काठमाडौं । नेपालको बिजुलीको आन्तरिक तथा बाह्य बजारको सम्भावना उच्च रहेको सरोकारवालाले बताएका छन । बिहीबारदेखि राजधानीमा सुरु भएको ऊर्जा सम्मेलन (पावर समिट) को कनेक्टिभिटी एण्ड मार्केटस फर नेपालको सत्रमा सहभागी वक्ताहरुले बीबीआईन मुलुकबीच सहकार्य र नेपालको आन्तरिक बजारमै उपयुक्त पहुँच विस्तार गर्न आवश्यक देखिएको औल्याएका हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जलविद्युत् क्षेत्रमा नेपालले ठूलो प्रगति गरिरहेको बताउँदै यो क्षेत्रमा भएको लगानीको प्रतिफल सुनिश्चिता, थप लगानी र समग्र अर्थतन्त्रको विस्तार गर्न सरकार बजार खोजी तथा विस्तारलाई तिव्रता दिएको बताए ।
आउँदो वर्षातदेखि नै विद्युत् सरप्लस हुँदैछ,” उनले भने, “भारत बंगलादेश चीनजस्ता छिमेकी मुलुकमा विद्युत बिक्री गर्ने तथा स्वदेशमा घसायसी तथा औद्योगिक प्रयोजनमा विद्युत् खपत बढाउने काम अझै तिव्रता दिनु पर्छ ।” आन्तरिक माग पुरा भएपछि मात्र नियार्त गर्ने नीति सरकारको रहेको उनको भनाई थियो ।”
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले नेपाली विद्युत्को बजार वृहत रहेको तर अझै पहिचान हुनै बाँकी रहेको बताए । एलपी ग्यास विस्थापनबाट घरायसी खपत बढाउन सकिने, पूर्वाधार विकासले तिव्रता पाउँदा नयाँ बजार सृजना समेत हुने उनको भनाई थियो ।
“दक्षिण एसिया हाम्रो विद्युत्को बृहद बजार हो,” उनले भने “ विद्युत् क्रेता र बिक्रेताबीच विन विनको अवस्था आउँदा यो क्षेत्रको समग्र अर्थतन्त्र नै लाभान्वित हुने र गति लिने अवस्था हुन्छ ।” अधिकारीले नेपालको जलविद्युत्को क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानी उच्च रहेको जानकारी दिए
इसिमोडका जल तथा ऊर्जा नीति सल्लाहकार डा. रमेश आनन्द वैद्यले बंगलादेश, भुटान, भारत नेपाल(बीबीआईएन)मा इनर्जी मिक्सको आवश्यकता रहेको र त्यसका लागि नेपालको विद्युत् उपयुक्त देखिएको भनाई राखे ।
ऊर्जा विज्ञ प्राध्यापक अमृतमान नकर्मीले नेपालको आन्तरिक वितरण प्रणाली सुधार गर्न सके विदेशी बजार खोज्नै नपर्ने प्रष्ट पारे । “नेपालको प्रतिव्यक्ति ऊर्जा खपत अत्यन्तै न्युन रहकाले आर्थिक समृद्धिका लागि पनि देशभित्रै खपत बढाउनुपर्छ,” उनले भने, “खाना पकाउने ग्यास विस्थापन गर्ने हो भने अहिले नै १ हजार मेगावाटको बजार छ, १० वर्षमा साढे पाँच हजार मेगावाट चाहिन्छ ।”
इन्डक्सन चुलो चलाउन १५ एम्पेयरको एमसीबी चाहिन्छ । नकर्मीका अनुसार ७० प्रतिशत ग्राहकलाई पाँच एम्पियरको पहुँच दिइएको छ । त्यस्ता ग्राहकले चाहेर पनि इन्डक्सन बाल्न पाउनु नपाएको बताए ।