काठमाडौँ । बैंकिङ क्षेत्र सुरक्षित बनाउन प्रविधीमा कम लगानी गरिहेको बिषय उठिरहेका कमजोर प्रविधीकै कारण शृंखलावद्ध बैंकिङ ठगीका घटना हुन थालेका छन् । शृंखलाबद्ध चोरीमा संलग्न गिरोहहरुले नयाँ नयाँ शैली प्रयोग गर्दै बैंक लुटेका छन् । त्यस्ता गिरोहले बैंकको एटिएमको पासवर्ड चोरी गरेर, बैंकको प्रणाली ह्याक गरेर तथा चेक र हस्ताक्षरको दुरुपायोग गरेर पैसा चोरी गरिरहेको प्रहरी अनसन्धानले देखाएको छ ।
अधिकांश बैंक ठगीमा बैंकका कर्मचारीको मिलेमतो रहेका प्रहरीको आशंका छ । त्यसो त नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सार्वजनिक समारोहमै बैंकरहरुलाई प्रबिधिमा लगानी गर्न लोभ गरेको भन्दै आक्रोस ब्यक्त गर्दै आएका छन् । आइतबार र सोमबार भने चोरहरुले सक्कली चेकमा नक्कली हस्ताक्षर गरेर जनता बैंकमा रहेको १९ लाख ९९ हजार रुपैँया चोरी गरेका छन् ।
आइतबार बिहान ११ बजेतिर व्यवसायी गोपालमान राजबाहकको मोबाइलमा प्रहरीको नामबाट मोबाइल ह्याक भएको र अनुसन्धान गर्न आधा घण्टा मोबाइल अफ गर्न भनेर फोन आयो । तर, आधा घण्टापछि मोबाइल अन गर्दा जनता बैंकबाट आफ्नो खातामा रहेको पैसा निकालिएको तीन वटा म्यासेज आएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
म्यासेज अनुसार तीन पटकमा उनको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ निकालिएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु ग¥यो । अनुसन्धानले बैंकमा दुई ओटा ५ लाख रुपैयाँका र एउटा ९ लाख ९९ हजार रुपैयाँको चेकमार्फत् रकम निकालिएको पत्ता लाग्यो । उनको खातामा अझै करिब ५ लाख रकम ब्यालेन्स थियो ।
त्यसपछि चोरहरुले उक्त रकम पनि लिन आउने अनुमानको आधारमा जनता बैंकका सबै शाखा अगाडी सादा पोसाकमा प्रहरी परिचालन भयो । राहजबाहकको नाममा कसैले चेक लिन आएमा जानकारी दिन मौखिम अलर्ट गरियो । प्रहरीले अनुमान गरे अनुसार नै मंसिर ९ गते न्यूरोड शाखामा राहबाहकको चेकबाट १ लाख २५ हजार र १ लाख ७० हजारको चेक आइपुग्यो । त्यसपछि बैंकका कर्मचारीले जानकारी दिएर प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भयो ।
प्रहरीले घटनामा संलग्न काभ्रेपलान्चोकका १९ वर्षे सुभाष श्रेष्ठ, १९ वर्षे कुमार तामाङ, १८ वर्षे मनिष घिमिरे, २१ वर्षे अन्जान बराल, बाग्लुङ गलकोटका २५ वर्षे सुमन पौडेल र सिन्धुपाल्चोकका ३० वर्षे गोविन्द गिरीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट विभिन्न व्यक्तिका ८ सय २५ थान फोटो, एनआइसी एसिया बैंकको ८२ थान एटिएम, अन्य बैंकका ७ थान एटिएम विभिन्न व्यक्तिका नामा भएका ३२९ थान चेक तथा बैंकसँग संबन्धीत डकुमेन्ट २ बोरा बरामाद गरेको छ ।
त्यस्तै, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० थान बरामद गरेको छ । प्रहरीले चोरीमा बैंकका कर्मचारीको संलग्नता रहेको आशंका गरेको छ । यसअघि गत असोज ७ गते कृषि विकास बैंककै कर्मचारीको मिलेमोतोमा लहानस्थिबाट सिस्टम ह्याक गरेर गिरोहले करिब २ करोड रुपैयाँ चोरीको गरेको थियो ।
सो चोरी प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो । त्यस्तै, गत भदौ १४ गते पनि चिनिँया ह्याकरहरुले बैंकिङ प्रणाली ह्याक गरेर रकम लुटेका थिए । उनीहरुले नबिल बैंकको नक्कली एटीएमबाट करिब डेढ करोड रुपैयाँ चोरी गरेका थिए । चिनिया ह्याकरहरुले नेपालका ७ वटा बैंकका विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंक एटिमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय चोरी गरेका थिए ।
भारतमा पनि ६ वटा नेपालका बैंकको कार्ड मार्फत २४ बैंकका १३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय चोरी गरेका थिए । । सो घटनामा संलग्न पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, गत असार ७ गते राष्ट्रिय वाणिज्य बैंकको एटीएम पीन ह्याक गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चोरी भएको थियो ।
प्रहरीले सो घटनामा संलग्न तीन जना रोमानियाली र एक नेपालीलाई पक्राउ गरेको छ । त्यस्तै, २०७३ माघमा नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखाबाट कर्मचारीकै मिलेमतोमा पैसा चोरी भएको प्रहरी अनुसन्धानमा देखिएको थियो । इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ भएको थियो । सीआइबीले एटिएमको दुरुपयोग गरी २ करोड ५७ लाख ४४ हजार ४ सय ३१ रुपैँया ठगी भएको भन्दै विगो दाबी गरेको छ भने बैंकिङ कसुरको घटनामा करिब २३ अर्व रुपैँयाको हाराहारीमा विगो दावी गरेको छ ।
बैंकिङ क्षेत्रमा भइरहेका यस्ता घटना न्युनिकरणका लागि नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरु नै चनाखो हुनुपर्ने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । उनी भन्छन् ‘बैंकहरुले सबैभन्दा नयाँ प्रबिधिहरु प्रयोग गरेर आफ्ना ग्राहकको रकम सुरक्षित राख्नुपर्छ । नयाँ प्रविधीले बैंकिङ प्रणालीमा कम जोखिम हुन्छ ।
बढी मात्रामा विदेशी नागरिक किन संलग्न छन् ?
नेपाली बैंकहरुले प्रयोग गर्ने प्रबिधिको फाइदा उठाउँदै विदेशी नागरिकहरुले मास्टर कार्ड प्रयोग गरी एटिएमबाट पैसा झिक्ने गरेको अनुसन्धानले देखाएको छ । त्यस्तै, भारतसँग भएको खुल्ला सीमाले बैंकिङ ठगी गरेर भाग्न सजिलो हुने कारण पनि विदेशीहरु नेपाल आउछन् । ठगी गरेर हवाई मार्गमार्फत जान नपाए पनि सडकमार्गबाट भारतीय बाटो प्रयोग गर्ने देखिएको प्रहरीले जनाएको छ ।
के भन्छ राष्ट्र बैंक
बैंकिङ अपराध गर्नेहरुले रकम लुटनका लागि नयाँ शैली अपनाउन थालेका छन् । एटिएम र प्रणाली नै ह्याकिङ गरेर लुटेराहरुले बैंकको पैसा चोर्दै आएका छन् । आइतबार र सोमबार जनता बैंकबाट सक्कली कागजातमा सम्बन्धित खातावालाको हस्ताक्षर चोरी गरी रकम लुटिएको छ । पछिल्लो समय शृंखलावद्ध रुपमा बढेका यस्ता घटनाले चिन्ता बढाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । राष्ट्र बैंकले आँफू मातहतका विभागलाई अनुसन्धानका लागि सक्रिय बनाएको छ । साथै बैंकहरुले प्रविधीलाई अपडेट गरिरहनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।