बिजुली खपत बढाउने विकल्प ‘इलेक्ट्रिक चुल्हो’ तर, किन ढुक्क छैनन् उपभोक्ता ?

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ मङ्सिर १३, शुक्रबार,०३:५८:PM  
बिजुली खपत बढाउने विकल्प ‘इलेक्ट्रिक चुल्हो’ तर, किन ढुक्क छैनन् उपभोक्ता ?

काठमाडौं । चालू आर्थिक बर्षभित्र प्रणालीमा हालसम्मकै सबैभन्दा बढी बिजुली थपिंदै छ । यो बर्ष १ हजार मेगावाट बिजुली थप भई जडित क्षमता २ हजार ३ सय मेगावाट पुग्ने सरकारको अनुमान छ ।

निमाणधिन ४५६ मेगावटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढीलगायत डेढ दर्जन जलविद्युत आयोजना सञ्चालनमा आएपछि वर्षातमा बिजुली बढी हुने विद्युत प्राधिकरणको अनुमान छ । केही वर्ष अघिसम्म लोडसेडिङले आक्रान्त बनेका उपभोक्तालाई अब बिजुली खपत बढाउन कसरी उत्प्रेरित गर्ने भन्ने बिषमा बिद्युत प्राधिकरणले योजना बनाइरहेको छ ।

विद्युत् माग बढाउन प्राधिकरण आफैले विद्युतीय सवारी प्रवद्र्धन गर्न मुलुकका विभिन्न ५० स्थानमा चार्जिङ स्टेशन समेत बनाउँदैछ । चार्जिङ स्टेशन निर्माणका लागि टेन्डर अन्तिम तयारीमा छ । भारतीय परामर्शदाता कम्पनीले टेन्डर डकुमेन्ट अध्ययन गरिरहेको छ । त्यो मात्र होइन्, विद्युत् खपत बढाउन आम ग्राहकलाई ‘कुकिङ ग्याँसको सट्टा इलेक्ट्रिक चुलो’ प्रयोगमा जोड दिइएको छ ।

तर, अहिलकै अवस्थामा आम ग्राहकले आफ्नो घरमा रहेको ग्याँस चुलोलाई बिस्थापन गरेर इन्डक्सन चुलो राख्छन् त ? सबैको मनमा उब्जिएको प्रश्न हो यो । प्राधिकरणले अहिले बितरण गरिरहेको प्रणाली अनुसार सामान्य मौसम परिबर्तन हुदा, भोल्टेजमा घटबढ हुदा पनि बिद्युत प्रबाहमा अबरोध हुने गर्छ । सोहि कारण आम उपभोक्ताहरुले इन्डक्सन चुलाकै भरमा ग्यासलाई प्रतिस्थापन गर्न हिच्किचाइरहेका छन् ।

विद्युत् वितरण प्रणाली, लोड बहन क्षमता र प्राकृतिक कारणले गर्दा नेपालको गुणस्तरीय विद्युत् वितरणमा असर गरिरहेको छ । अझ बिहान र बेलुका ‘पिक आवर’ मा एकैचोटी लोड हुने हुँदा सिस्टममा समस्या आएर लाइन जाने अवस्था कायमै छ । बेला बेलामा हुने ‘ट्रिपिङ’ ले आम ग्राहक आक्रन्त छन् । बेला बेलामा लाइन ट्रिपिङ हुने र लामो समय नआउने सम्भावनाकै कारणले ग्याँसको सट्टा विद्युतीय चुलो फेर्न सक्ने अवस्था नरहेको बालाजुका सौरभ रानाले बताए ।

तर, वितरण प्रणाली ‘पर्फेक्ट’ नै भएको ग्यारेन्टी गर्न नसकेपनि ग्राहकले ग्याँसलाई विस्थापन गरे विद्युतीय चुलो जडानतर्फ जान सकिने वातावरण बनेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । उनले भने, ‘हामीले वितरण प्रणाली पर्फेक्ट हुन्छ भनेर ग्यारेन्टी गर्न सक्ने अवस्था रहेन् । तर, ग्राहकले ग्याँस विस्थापन गरेर विद्युतिय चुलोतर्फ जान सकिने छ ।

कहिलेकाहींको ५÷७ मिनेट ट्रिपिङले त्यति साह्रो समस्या रहन्न ।’ गतबर्ष प्राधिकरणले ट्रान्सफर्मर फेरेको, मर्मत सम्भार, नयाँ ट्रान्सफर्मर, सवस्टेशन निर्माण र प्रसारण लाइन निर्माणलाई तीव्रता दिइएकाले पनि लोड व्यवस्थापनमा ठूलो समस्या नरहने अधिकारीको बुझाइ छ । उनका अनुसार गतबर्ष प्राधिकरणले झन्डै ६९ ओटा सवस्टेशन र ट्रान्सफर्मर निर्माण, स्तरोन्नती र मर्मत सम्भार गरेको थियो ।

अझैपनि विद्युत् वितरण प्रणालीलाई प्रभावकारी र गुणस्तरीय बनाइ ‘रोबस’ सिस्टम लागू गर्नुपर्ने आवश्यकता रहेको अधिकारी बताउँछन् । केही समयअघि काभ्रेलगायतका क्षेत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुगेर विद्युतिय चुलोतर्फ आकर्षित हुन आग्रह समेत गरेका थिए । विभिन्न एनजिओ, आइएनजीओ, सामाजिक संघसंस्था तथा निकायले पनि विद्युतिय चुलो प्रयोगतर्फ आम जनतालाई आकर्षित गर्ने कार्यक्रम अघि बढाउदै लगेका छन् ।

खाना पकाउन मात्र बिजुलीको प्रयोग भयो भने झण्डै ६० अर्ब रुपैयाँ बराबरको ग्याँस आयात बन्द हुन्छ । यसले बढ्दो व्यापार घाटा कम गर्न सहयोग पुर्याउने छ । अहिले आम जनतालाइ विद्युत्तीय चुल्हो प्रयोग गर्नतर्फ जोड दिएपनि प्राधिकरणले सचेतना र अभियानका रुपमा अघि बढाउन जरुरी छ ।

याे पनि पढ्नुहाेस

आउँदो वर्षदेखि मुलुक बिजुलीमा आत्मनिर्भर, बढी बिजुली खपत कसरी बढाउने भन्नेमा प्राधिकरणको चिन्ता 

हरिप्रसाद शर्मा

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप