काठमाडौं । सर्वोच्च अदातलले चेक बाउन्सलाई बैङ्किङ कसुर मान्न नमिल्ने फैसला गरेपछि उधारो तिर्ने भन्दा पनि नयाँ फर्म खोलेर व्यवसाय गर्ने खेल सुरु भएको छ । व्यापारी तथा फर्म तिर्नुपर्ने पैसा नतिरेपछि उद्योगीले चेकलाई बाउन्स गराएर फर्मलाई कालोसूचीमा राख्ने गर्छन् ।
आफ्नो फर्मलाई उद्योगीले कालोसूचीमा राखेको थाहा पाएपछि व्यपारीहरुले पुरानो उधारो तिर्ने भन्दा पनि नयाँ फर्म खोलेर व्यवसाय गर्ने गरेको पाइएको छ । जसले गर्दा उद्योगीले उक्त फर्म तथा व्यापारीलाई कालोसूचीमा राख्दा समेत कुनै असर नपरको उद्योगी बताउँछन् ।
‘पहिलाको कानुन अनुुसार चेक बाउन्स गराएपछि प्रहरीले पक्राउ गर्ने र त्यसैको डरका आधारमा पैसा तिर्ने गर्थे,’ सारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले भने, ‘अहिले त हाँकाहाँकी पैसा तिर्दिन भन्छन्, । मेरो फर्मलाई कालोसूचीमा हाल्ने ? भन्ने सम्म जवाफ दिन थालेका छन् ।’
उद्योगीले फर्मलाई कालोसूचीमा राखे पनि व्यापारीलाई त्यसले कुनै असर नपर्ने सौरभ समूहका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले बताए । एउटा फर्म कालो सूचीमा परे पछि छोरा वा श्रीमतिको नामबाट फर्म दर्ता गराएर व्यवसाय सुरु गर्छन ।’
व्यपारीसँग उधारो उठाउने एउटा मात्रै आधार भनेको उनीहरुले दिएको चेक हो । त्यही चेक बाउन्स गराएपछि उनीहरुलाई हदैसम्मको कारबाही भनेको उनीहरुको फर्म कालोसूचीमा राख्ने हो । एउटा फर्म कालोसूचीमा परे अर्काको नामबाट फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका छन् ।
सरकारले बेलैमा उधारो उठाउने कानुन नल्याउने हो भने धेरै व्यवसायीको घरवार उठिवास हुने सम्भावना छ । उसै पनि उधारोको सीमा एक सय ८० दिन पुगिसकेको छ । त्यसमाथि पनि उठ्नुपर्ने पैसा नउठदा अर्थतन्त्रको चक्रमै समस्या आउने उद्योगीहरु बताउँछन् ।
याे पनि पढ्नुहाेस्
चेक बाउन्सलाई बैङ्किङ कसुर नमान्दा उधारो उठाउन सकस, पैसा तिर्नेबाट उल्टै धम्की