काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले बैंकिङ क्षेत्र थप असुरक्षित बन्दै गएको भन्दै सूचना प्रविधिमा लगानी बढाउन सुझाव दिएका छन । उनले सूचना प्रविधि र जनशक्तिलाई तालिम दिन छुट्टाइएको ३ प्रतिशत रकम लगानी गर्न बैंकहरुलाई निर्देशन दिए ।
बढ्दो ब्याजदरले लगात बढाएको र सूचना प्रविधिमा बढी लगानी गर्नुपरेकाले आफुले बैंक मर्जरको कुरा उठाएको गभर्नर नेपालले बताए । बैंकहरुबीच मर्जर भएपछि लागत कम हुन गई सस्तो ब्याजमा कर्जा प्रवाह गर्न सकिने र प्रविधिमा कम लगानी हुने उनको भनाई थियो ।
नेपाल बैंकर्स एसोसियसनको ३३ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले चेक बुक कसलाई दिनुपर्छ भन्ने जानकारी नभएको कर्मचारी बैंकमा भएकाले जोखिम बढेको दावी गरे ।
आज अर्कैलाई चेक बुक दिए भोली बिटाका बिटा पैसा पठाए भने के गर्ने ?’ उनले भने ‘प्रविधि र तालिममा लगानी गर्नुहोस । यसले वित्तीय क्षेत्र कमजोर भन्ने देखाएको छ ।’ अहिले साइवर आक्रमणले गर्दा बैंकिङ क्षेत्र कमजोर देखिएको उनको भनाई छ ।
सो अवसरमा एसोसियसनका नवनिर्वाचिन अध्यक्ष भुवनकुमार दाहालले पछिल्लो समयमा देखिएको त्रासले गर्दा बैंकहरुले कर्जा लगानी गर्न नसकेको बताए ।
उनले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले ऋण स्वीकृत गरेपछि जेल जानुपर्ने अवस्था आएको बताउदै यसले यस क्षेत्रलाई थप त्रसित बनाएको जिकिर गरे । उनले यस्तो व्यवस्थालाई हटाउन माग गरे ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकको नाफा ०.४ प्रतिशत मात्र बढेको जानकारी दिदै लागत बढेकाले नाफामा कमी आएको दाहालको भनाई थियो ।
एसोसियसनका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बढ्दो ब्याजदरले गर्दा लागत बढ्न गई बैंकहरुको नाफामा कमी आएको बताए ।
अहिलको अवस्थामा बैंकहरुले कारोबार विस्तार गर्न सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए । सरकारको सहयोगले अहिले ब्याजदर स्थिर रहेकाले थप समस्या नआएको उनको भनाई थियो । बैंकमा साइबर घटना बढेको प्रति उनले चिन्ता व्यक्त गरे ।