काठमाडौं । काठमाडौँ उपत्यकाको समग्र सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा अध्ययन गरी त्यसको सुधारका लागि कार्ययोजना बनाउनेछ ।
कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, सडक विभागका निर्देशक शिवहरि सापकोटा, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक, काठमाडौँ महानगरपालिकाका सहरी विकास महाशाखा प्रमुख उत्तर रेग्मीलगायतका सदस्य रहेका छन।
कार्यदलले केही समयभित्रैमा काठमाडौँका सबै सडकको अवस्था बुझेर अब सरकारले गर्नुपर्ने कामको योजना बनाउने सडक विभागका निर्देशक शिवहरि सापकोटाले बताए । विभिन्न सडकमा पैदलयात्रु मार्ग (फुटपाथ) को अवस्था, आकाशेपुल, सडक बत्ती, सडक पार गर्ने ठाउँ (जेब्राक्रसिङ) लगायतका पूर्वाधारका बारेमा अनुगमन हुने उनले बताए । उनले भने, “सडक र त्यहाँ रहेका पूर्वाधारको अवस्थाका बारेमा समग्र जानकारी लिएर त्यसकै आधारमा अघि बढिनेछ ।”
सडक निर्माण र सुधारका क्षेत्रमा कार्यरत वा सडकसँग प्रत्यक्ष वा परोक्ष सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदलले सडक सुधारका लागि कार्ययोजना बनाउने बताइएको छ । सडक स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि रहेका कानूनीलगायतका अवरोधसमेत हटाउने योजना छ ।
कार्यदलमा रहेका निकायहरुले आगामी दिनमा कसले के गर्ने भन्नेसमेत तय हुने निर्देशक सापकोटाले बताए । उनले भने, “हामी केही दिनदेखि नै स्थलगत अध्ययन गर्नेछौँ ।” रासस