काठमाडौं । ग्लोबल आईएमई र जनता बैंकले शुक्रबारदेखि औपचारिक रुपमा एकिकृत बैंकिङ कारोबार सुरु गर्दैछन । एकीकृत कारोबारको अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गर्दै छन ।
ग्लोबल र जनताको एकिकृत कारोबार पश्चात देशकै ठुलो वाणिज्य बैंक भएको छ । ग्लोवल आईएमई बैंकको नामबाट एकिकृत कारोबार हुने छ ।
गाभिएपपछि बैंकको चुँक्ता पूँजी १९ अर्ब प्राथमिक पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै निक्षेप परिचालन २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब रुपैयाँ छ । मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ छ ।
ग्लोबल आईएमई बैंकका ७७ वटै जिल्लामा ३०० को हाराहारीमा शाखा सञ्चालनमा रहनेछन । २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८३८ रहनेछन ।
यी दुई बैंक मर्ज हुने वित्तिकै २९ वटा शाखाहरुलाई समायोजना गरिंदैछ । त्यसैगरी, बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक पुग्ने छन ।
यसअघि ग्लोबल आईएमईले कमर्ज एन्ड ट्रष्ट बैंकलाई समाहित गरेको थियो । यसबीचमा ग्लोबल आईएमईले आईएमई फाइनान्स, सोसियल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासेफिक डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्सलगायत एक दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गराएको छ ।