काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धि हासिल गर्न ठुला बैंक आवश्यक भएको बताएका छन । ठुलो पुँजी भएका बैंकले मात्र वृहत परियोजनामा लगानी गर्न सक्ने बताउदै उनले अन्य ठूला बैंकहरूलाइ पनि मर्जरमा गएर ठूलो बैंक बन्न सुझाए ।
ग्लोबल आईएमई र जनता बैंकको एकिकृत कारोबारको शुक्रबार शुभारम्भ गर्दै उनले आर्थिक वृद्धिका लागि स्वदेशी पुँजीले मात्र नपुग्ने बताए । ठुलो बैंक भएपछि विदेशी वित्तीय संस्थाले पनि ऋण दिने उनको भनाई थियो । राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउन खुला गरेको बताउदै यसलाई उपयोग गर्न अर्थमन्त्री खतिवडाले बैंकरलाई सुझाए ।
बैंक जति ठुलो भयो त्यति नै लगानीको क्षेत्र पनि विस्तार हुने अर्थमन्त्री खतिवडाकाे भनाइ थियाे । बैंक सञ्चालन कसैको लहडमा नभइ व्यवस्थापकीय क्षमताको आधारमा हुने पर्ने अर्थमन्त्री खतिवडाले सुझाव दिए ।
सो अवसरमा राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले सूचना प्रविधिमा लगानी बढाउन बैंकहरुलाई सुझाए । उनले आज चेक गयो भोली बैंकबाट पैसा जान सक्ने अवस्था हुन सकछ भन्दै बैंक साइवर सुरक्षाको जोखिममा परेकोले यसतर्फ लगानी बढाउन सुझाव दिए । त्यस्तै कार्यक्रममा उनले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई नाफा मात्र कमाउन भनेर दवाव नदिन सञ्चालक समितिलाई निर्देशन दिएका थिए ।
ग्लोबल आईएमई र जनता बैंकले शुक्रबारदेखि औपचारिक रुपमा एकिकृत बैंकिङ कारोबार सुरु गरेका छन । ग्लोबल र जनताको एकिकृत कारोबार पश्चात देशकै ठुलो वाणिज्य बैंक भएको छ ।
गाभिएपछि बैंकको चुँक्ता पूँजी १९ अर्ब प्राथमिक पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै निक्षेप परिचालन २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब रुपैयाँ छ । मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ छ ।
ग्लोबल आईएमई बैंकका ७७ वटै जिल्लामा ३०० को हाराहारीमा शाखा सञ्चालनमा रहनेछन । २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८३८ रहनेछन ।
यी दुई बैंक मर्ज हुने बित्तिकै २९ वटा शाखाहरुलाई समायोजना गरिंदैछ । त्यसैगरी, बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक पुग्ने छन ।