काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ मा खुदनाफा २० प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष ०७६/०७७ मा बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुदनाफा हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा १ अर्ब ७६ करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
ऋणपत्र निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा सनराइजले गत वर्षको तुलनामा ३४ करोड ७० लाख रुपैयाँ नाफा बढ्ने प्रक्षेपण गरेको हो । नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा पुग्ने छ । बैंकको ३ वर्षको औसत प्रतिफल १२.७० प्रतिशत छ ।
बैंकले आगामी आर्थिक वर्ष ०७७/०७८ मा नाफा बढाएर २ अर्ब ३० करोड ४० लाख र अर्को वर्ष २ अर्ब ४९ करोड ९० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी २८ रुपैयाँ २६ पैसा र अर्को वर्ष ३० रुपैयाँ ६५ पैसा पुग्ने अनुमान छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सनराइजको नाफा ३७ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको थियो । सार्वजनिक गरेको पहिलो त्रैमाशको वित्तीय विवरणमा नाफा १२ करोड ३४ लाख रुपैयाँ बढेको उल्लेख छ ।
यस्तै प्रतिसेयर नेटवर्थ यो वर्ष १७६, आगामी वर्ष २०४ र अर्को वर्ष २३५ रुपैयाँ पुग्ने अनुमान सनराइजको छ । बैंकले निष्क्रिय कर्जा अनुपात ०.४५ प्रतिशत मात्र राख्ने लक्ष्य लिएको छ । कर्जा तथा लगानी प्रतिफल ११.५० पैसा हुने छ ।
यो वर्ष बैंकको खुदब्याज आम्दानी बढेर ४ अर्ब २६ करोड ८० लाख, आगामी वर्ष ४ अर्ब ३९ करोड ८० लाख र ०७८०७९ मा ४ अर्ब ७१ करोड ९० लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा रहेको अत्यधिक तरलताको चाप आगामी बर्षहरुमा सहज हुने अनुमान बैंकको छ । तीन वर्षमा निक्षेपको औसत ९.५ तथा कर्जाको औसत १०.३३ प्रतिशत हाराहारीमा वृद्धि देखिएकाले यही आधारमा आगामी वर्षहरुमा लक्ष्य बमोजिम लक्षित वृद्धि सहज हासिल हुने अनुमान गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा विस्तार गरेको नयाँ शाखाहरु सञ्चालनमा आइसकेकोले आगामी ३ वर्षमा अनुमान गरिएको सञ्चालन आम्दानी तथा नाफा सजिलै प्राप्त गर्न सकिने छ ।
चालु आर्थिक वर्षमा निक्षेप परिचालन २४.३० प्रतिशत बढेर ९४ अर्ब ८ करोड, आगामी वर्ष २४.८७ प्रतिशत बढेर १ अर्ब १८ अर्ब १३ करोड र ३ वर्षमा २० प्रतिशत बढेर १ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
यस्तै कर्जा लगानी पनि २४.२६ प्रतिशत बढेर ८५ करोड ५७ लाख, आगामी वर्ष १७.२४ प्रतिशत बढेर ९९ अर्ब ७५ करोड र ३ वर्षमा १८ प्रतिशत बढेर १ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकले गरेको छ ।
चालु आर्थिक वर्षमा जगेडा कोष ३ अर्ब ८६ करोड, आगामी वर्ष ४ अर्ब ९६ करोड र ३ वर्षमा बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ ।