काठमाडौं । विभिन्न १४ कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन । जलविद्युत, बिमा, मर्चेन्ट बैंकर र लगानी गरी ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४ करोड ४० लाख ६५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
आईपीओ निष्कासनका लागि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । आईपीओ निष्कासनको अनुमति माग्नेमा अधिकाँश जलविद्युत कम्पनी रहेको बोर्डले जनाएको छ ।
जलविद्युत कम्पनीले आईपीओ निष्कासनको वाध्यकारी व्यवस्था भएपछि विद्युत नियमन आयोगबाट स्वीकृति लिएर अन्तिम स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका छन ।
बोर्डमा आवेदन दिने मध्ये सबैभन्दा बढी रकमको आईपीओ नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको छ । पुर्नबिमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
यस्तै सीबीआईएल क्यापिटल लिमिटेड र नेपाल इमर्जिङ्ग लिमिटेडले पनि आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन । साउनयता बोर्डले एउटा कम्पनीलाई मात्र आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
शिवश्री हाइड्रोपावर लिमिटेडले २२ करोड १४ लाख ६० हजार रुपैयाँ बराबरको २२ लाख १४ हजार ६०० कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।
आईपीओ निष्कासन गर्न अनुमति माग्नेमा एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, शुभम पावर लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड र माउन्टेन नेपाल हाइड्रो लिमिटेड छन ।
जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ भन्दा कम भएपछि लगानीकर्ताको आकर्षण घटेको छ ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।