काठमाडौं । तारा म्यानेजमेन्टले पुननिर्माण गरेको ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाबाट पुस ७ गतेदेखि व्यवसायिक रुपमा बिजुली उत्पादन गर्ने भएको छ ।
हाल परीक्षण उत्पादन गरिरहेको आयोजनाले १५ दिनको परीक्षणपछि अर्थात पुस ७ गतेदेखि व्यवसायिक रुपमा बिजुली उत्पादन गर्ने छ । सोही दिनदेखि भोटेकोसी पावर कम्पनीले आम्दानी गर्न थाल्ने छ ।
हाल २२ देखि २५ मेगावाट हारहारीमा बिजुली उत्पादन गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृति (सीईओ) बिक्रमरत्न स्थापितले बताए । भोटेकोसी नदीमा पानीको वहाव कम हुँदै गएकाले माघमा उत्पादन घटेर १७ मेगावाटसम्ममा झर्ने छ ।
२०७२ सालको भूकम्प र त्यसपछि भोटेकोसीमा आएको बाढीले आयोजनामा ठुलो क्षति भएको थियो । आयोजनाको ठेकेदार चीनको सिनो हाइड्रो कर्पोरेशन रहेको छ ।
आयोजनाको बाँध र विद्युतगृह नयाँ बनाइएको छ । आयोजना बनाउन तारा म्यानेजमेन्टले ७ अर्ब रुपैयाँ थप लगानी गरेको छ । यसअघि आयोजना १४ अर्ब रुपैयाँमा निर्माण भएको थियो ।
आयोजनाको बाँध, पेनस्टक पाइप, सुरुङलागयत सबै संरचना पहिलाको भन्दा बढी मजवुत बनाइएको उनले सुनाए । आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको छ ।
आयोजनाबाट वार्षिक २९ करोड ३२ लाख युनिट बिजुली उत्पादन हुन्छ । आयोजना पुननिर्माणपछि जडित क्षमतामा कुनै असर नपरेको उनले बताए ।
२०७२ को भूकम्पले पेनस्टक पाइपमा क्षति पुुर्याएको थियो । पेनस्टक पाइप बनेपछि २०७३ साउनमा आएको बाढीले पुनः आयोजनाको बाँध संरचना पुर्नुका साथै विद्युतगृहमा क्षति पुर्याएको थियो ।
आयोजनाको तातोपानीको १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त हुनुका साथै दुई ओटा ढोकासमेत बाढीले पुरिएको थियो । कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भूभागबाट बाढीले खोलेको थियो । आयोजना नेपाल र चीनको सीमाना तातोपानी भन्सार नजिक छ ।
आयोजना सन २००१ देखि सञ्चालनमा आएको हो । अमेरिकाको पाण्डा इनर्जीले निर्माण गरेको आयोजना पछि तारा म्यानेजमेन्टले खरिद गरेको हो । आयोजनाको अनुमतिपत्र (लाइसेन्स) ५० वर्षको छ ।
९५ प्रतिशत तारा म्यानेजमेन्टको र बाँकी ५ प्रतिशत अमेरिकाको हार्जा इन्टरनेसनल इंकको स्वामित्व छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको बिजुली डलरमा खरिद गर्ने छ ।
आयोजना सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको तातोपानीमा बाँधस्थल र फुलिङकट्टी झिर्पुमा विद्युतगृह रहेको छ । आयोजना विसं २०७४ मा पुनःनिर्माणको काम सुरु भएको हो ।