काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित १४ जिल्लामा चालु आर्थिक बर्ष २०७६÷०७७ भित्रै सम्पूर्ण निजी आवास पुनः निर्माणको काम सक्ने भएको छ । प्राधिकरणले भुकम्प प्रभावित जिल्लाबाट आएका गुनासोहरुलाई सम्बोधन गर्दै अन्तिम पटक ४ हजार ६ सय ४४ लाभग्राही थप गरेको छ ।
त्यस्तै ४ सय १० जनालाई संभावित लाभग्राही र २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम समेत गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता गोपाल प्रसाद अर्यालले बताए । अहिले पुननिर्माणको लागी थप भएका लाभग्राही सर्वेक्षणको काम भइरहेको र केही दिनमा सर्वेक्षण सक्ने गरी काम भइरहेको उनले जानकारी दिए ।
उनले भने ‘अब आवास निर्माणमा गुनासो सर्वेक्षण गरी लाभग्राही थप गर्ने काम अन्तिम हो, प्राधिकरण कार्यकारी समितीको बैठकले नै निर्णय गरेर भुकम्प पिडित लाभग्राही सख्या थप नगर्ने गरी प्राधिकरण अगाडी बढेको छ ।’
प्राधिकरणमा निजी आवास पुननिर्माणको लागी लाभग्राही सुचीमा परेका ८ लाख १६ हजार ५६४ मध्ये ६२ प्रतिशतले घर बनाइसकेका छन् । त्यस्तै २४ प्रतिशत अर्थात ६ लाख ६९ हजार १० जनाले घर निर्माण गरिरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण कार्यकारी समितिकोे २०७६ मंसिर १६ गते बसेको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त ४२ हजार ७ सय ४२ गुनासो मध्ये ४ हजार ६ सय भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो ।
प्राधिकरणले अब सहकारी भवन तथा राष्ट्रिय सम्पदाको पुननिर्माणलाई प्राथमितामा राखेर अगाडी बढेको जनाएको छ । अहिले पुननिर्माण गर्ने छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासोहरु चार दर्जन इञ्जिनियरले विश्लेषण गरिरहेकाले छिटै फर्छौट गरी लाभग्राही सुची तयार पार्ने प्रवक्ता अर्यालले जानकारी दिए ।
लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार रुपैयाँ प्राप्त गर्न सक्ने उनले जानकारी दिए ।