काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको चैत २८ र २९ गते हुने निर्वाचनका लागि प्रत्यासी उम्मेदवारहरुले आफ्नो तयारी सुरु गरेका छन् । प्रत्यासी उम्मेदवारहरुले आफूनिकट व्यवसायीहरुसँग छलफललाई तीव्र पारेका छन् ।
विधान संशोधनको मुद्धा स्थगित भएपछि बरिष्ठ उपाध्यक्षलगायत अन्य पदमा निर्वाचन हुने भएकाले आकाँक्षीहरुले चार महिनाअगाडि देखि नै तयारीलाई तीव्रता दिएका हुन् । महासंघको बरिष्ठ उपाध्यक्षका लागि एशोसियट उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले तयारी थालेका छन् ।
त्यस्तै जिल्ला उपाध्यक्षका लागि दिनेश श्रेष्ठ, गुणनिधी तिवारी, अरुण सुमार्गी र दिलसुन्दर श्रेष्ठले तयारी थालेका छन् । एशोसियट उपाध्यक्षका लागि सौरभ ज्योती, साहिल अग्रवाल र ज्ञानेन्द्रलाल प्रधानले तयारी थालेका छन् ।
महासंघमा अध्यक्षसँग मतभेदका कारण कोषाध्यक्षबाट राजिनामा दिएका प्रधान सिएनआई गएपनि एशोसियट उपाध्यक्षमा आफुलाई सहयोग हुने अपेक्षामा महासंघ फर्किन लागेका हुन् ।
त्यस्तै बस्तुगत उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र कमला श्रेष्ठले तयारी थालेका छन् । अध्यक्षका लागि शेखर गोल्छा निश्चित भएसँगै अरु पदका लागि उम्मेदवारहरुले तयारी थालेका हुन् । उम्मेदवारहरुले अहिले आफूनिकट पूर्वअध्यक्ष, व्यवसायीहरुसँग छलफल गर्दै सुझाव मागिरहेका छन् ।
सौरभ ज्योती र अन्जन श्रेष्ठले पत्रकार भेटघाट गरेर आफू निर्वाचनका लागि तयार रहेको सन्देशसमेत दिएका छन् ।
महासंघकी अध्यक्ष भवानी राणाले चारमहिनापछि हुने निर्वाचनका लागि चुनावी माहौल सुरु भैसकेको बताइन् । ‘सम्भावित उम्मेदवारहरुले आफ्नो आफ्नो तरिकाले छलफल र तयारी थालेका छन्,’ उनले भनिन् । जिल्ला जिल्लाबाट पनि निर्वाचनका लागि चासो बढ्दै गएकाले उम्मेदवारहरुले पनि आफ्नो प्रचारलाई विस्तारै अगाडी बढाएको उनले बताइन् ।