काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउन ढिलाइ गरेपछि सुनचाँदीलाई पनि निक्षेपको रुपमा स्वीकार गर्ने नीति कार्यान्वयनमा आउन सकेको छैन ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सर्वसाधारणसंग भएको सुनचाँदीलाई तरल बनाउन बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा राख्न पाउने व्यवस्था गरेको छ । मौद्रिक नीतिमा व्यवस्था गरेपनि नीति अझै कार्यान्वयनमा आएको छैन ।
चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि राष्ट्र बैंकले कार्यविधि बनाउन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकारेका गर्न नसकेका हुन । राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले कार्यविधि बनाउने काम भइ रहेको बताए ।
‘सुनचाँदीलाई निक्षेपको रुपमा राख्न केही कठिनाइहरु छन, ती कठिनाईलाई हटाउने विषयमा छलफल भइरहेको छ ।’ सहायक प्रवक्ता नागिलाले क्यापिटल नेपालसँग भने । उनका अनुसार सुनचाँदीलाई निक्षेपका रुपमा राख्ने विषयमा देखिएका व्यवहारिक कठिनाई तथा अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ भन्ने विषयमा राष्ट्र बैंकले छलफल गरिरहेको छ ।
विदेशीमा सुनचाँदीलाई बैंकहरुले निक्षेपको रुपमा स्वीकार गर्दै आएका छन । सरकारले पनि घरमा अनुत्पादक रुपमा रहेको सुनचाँदीलाई बैंक तथा वित्तीय संस्थामा राखेर तरल बनाउने योजना बजेटमा ल्याएको छ ।
सर्वसाधारणसंग भएको सुनचाँदीलाई निक्षेपको रुपमा राखेर ब्याजदर दिने व्यवस्था गर्न लागेको हो । कार्यविधी नबनेकाले सर्वसाधारणले तत्काल सुनचाँदीलाई निक्षेपको रुपमा राख्न पाउने देखिँदैन ।
सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकार गर्दा त्यसको ब्याजदर कति हुने, कस्तो सुनको निक्षेप लिँदा कति रकम बराबरको हुने भन्ने विषयमा स्पष्ट नीति नभएका कारण बैंक तथा वित्तीय संस्थालाई सुनचाँदी निक्षेपको रुपमा स्वीकार गर्न समस्या भएको छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सर्वसाधारणले सुनचाँदीलाई निक्षेपको रुपमा राख्न पाउने घोषणा गरेको थियो । सरकारको सोही घोषणा अनुसार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थामा सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकार गर्ने नीति ल्याएको थियो ।
सुनचाँदीमा सर्वसाधारणको करोडौँ रुपैयाँ लगानी भइरहेको तर त्यो अनुत्पादकको रुपमा घरमै थन्किने भएकाले सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकार गरी औपचारिक अर्थतन्त्रको हिस्सा बनाउने उद्देश्यका साथ सरकारले यस्तो नीति ल्याएको थियो ।