काठमाडौँ । नेपाल राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशक ३० वर्षे अवकास नीतिका कारण अवकाश पाउँदैछन् । जसमा लक्ष्मीप्रपन्न निरौला, महेश्वरलाल श्रेष्ठ, सुनिल उदास र सरिता भट्ट रहेका छन् । तर, संसदमा रहेको राष्ट्र बैंक ऐन संसोधन भयो भने चारै जना कार्यकारी निर्देशकले निरन्तरता पाउने सम्भावना छ । पुष ४ गतेदेखि हिउदे अधिबेशन शुरु हुदैछ ।
राष्ट्र बैंकमा ५८ वर्ष उमेर पुगेपछि र ३० वर्ष सेवा गरेपछि अवकास हुने दुईवटा अवकाश नीति छन् । दुई नीति कायम रहदा समस्या भएको भन्दै राष्ट्र बैंकले गत वर्ष ३० बर्षे अवकास नीति हटाउन खोजेको थियो । सो बिषयमा लोक सेवाले तत्काल नहटाउन राष्ट्र बैंकलाई सुझाव दिएसँगै गत बर्ष ३० बर्षे अवकास नीति सेलाएको थियो । तर, राष्ट्र बैंकका कर्मचारीले भने सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । गत जेठ सर्वाेच्चले राष्ट्र बैंक स्वयंले आफ्नो निर्णय गर्न सक्ने फैसला गरेपछि ३० वर्षे अवकास नीति हटाउन राष्ट्र बैंकलाई बाटो खुलेको थियो ।
३० बर्षे अवकास नीतिल जनशक्तिको अभाव भइरहेको राष्ट्र बैंकका कर्मचारी बताउँछन् । सोहि कारण राष्ट्र बैंकले ‘राष्ट्र बैंक ऐन’ संशोधनका लागि संसद्मा पेश गरेको छ । सो ऐन माघ ६ अघि संशोधन भएर लागु भएमा चारै जना कार्यकारी निर्देशकले निरन्तरता पाउने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।
कार्यकारी निर्देशकहरु अवकास हुनुभन्दा एक महिना अघि विदा बस्ने प्रचलन छ । सोहि एक महिनाभित्र ३० वर्षे अवकाश नीति हटेमा चार जना कार्यकारी निर्देशकले निरन्तरता पाउनेछन् । ‘माघ ६ गते ५ बजे भन्दा अघि नीति बनेर आयो भने लक्ष्मीप्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठ पुर्नबहाली हुन सक्छन् ’ डेपुटी गभर्नर शिवाकोटीले भने । तर, सरिता भट्ट र सुनिल उदासको कार्यकाल पुषमै सकिने भएकाले उनीहरुले निरन्तरता पाउन पुषमै नीति संशोधन भएर आउनुपर्छ ।
राष्ट्र बैंकका प्रवक्ता निरौलाले मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी सम्हालेका हुन् । त्यस्तै, महेश्वरल श्रेष्ठले सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालिरहेका छन् । आउँदो सोमबारदेखि उनीहरु दुबैजना विदामा बस्दैछन् । सुनिल उदास र सरिता भट्ट (अधिकारी) भने विदा बसिसकेका छन् । उदास फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग र भट्टले विदेशी मुद्रा ब्यवस्थापन विभागको जिमेवारी सम्हालेका थिए ।