काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशनमा अर्थसम्बन्धी महत्वपूर्ण विधेयक माथि कारवाही अघि बढेको छ । यहि पौष ४ गते शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु भएको छ । सो अधिवेशनमा बैंक तथा वित्तीय संस्थाकासहित ८ ओटा आर्थिक क्षेत्रसँग सम्बन्धीत विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ ।
संसद् सचिवालयका अनुसार नागरिक लगानी कोष(दोस्रो संशोधन), बैंक तथा वित्तीय संस्था सम्बन्धी(पहिलो संशोधन) विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी विधेयक, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, धितोपत्र सम्बन्धी(पहिलो संशोधन) विधेयक, बीमा सम्बन्धी विधेयक २०७५, राजश्व चुहावट तथा नियन्त्रण विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) लगायतका विधेयक उपर कारवाही चलिरहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
कतिपय विधेयकको प्रारम्भीक छलफल भइरहेको छ भने कतिपय समितिमा छलफल भइरहेका छन् । प्रवक्ता पाण्डेका अनुसार आगामी संसदले यी विधेयकमाथि टुंगो लगाउन सक्ने संभावना छ । राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण (प्रथम संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पेश भएको छ ।
विधेयक सम्बन्धी अधिवेशनका रुपमा लिइने हिँउदे अधिवेशनमा नेपाल नागरिकता (पहिलो संशोधन), बिरुवा संरक्षण (पहिलो संशोधन), पारमाणविक, सङ्घीय निजामती सेवा, सूचना प्रविधिसम्बन्धी, ज्येष्ठ नागरिक सम्बन्धी, बीउबिजन (दोस्रो संशोधन), राष्ट्रिय खेलकूद विकास, प्रमाण (दोस्रो संशोधन), मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, खानेपानी तथा सरसफाइ,नागरिक लगानी कोष (दोस्रो संशोधन), लोकसेवा आयोग र शिक्षासम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक पनि दर्ता भएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक यही पुस ११ गते बस्दैछ । सो वैठकले अधिकांश विधेयकको टुंगो लगाउने प्रवक्ता पाण्डेले बताए ।