अब हवाई कम्पनीलाई एक महिनाको अग्रिम भुक्तानीपछि मात्र उडान अनुमति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २१, साेमबार,०३:०६:PM  
अब हवाई कम्पनीलाई एक महिनाको अग्रिम भुक्तानीपछि मात्र उडान अनुमति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपालका सबै विमानस्थल प्रयोग गरेबापत रकम नतिर्ने वायुसेवा कम्पनीहरु माथि नेपाल नागरिक उड्डयन प्राधिकरण कठोर बनेको छ ।

प्राधिकरणले  न्यूनतम एक महिनाको सेवा शुल्क अग्रिम भुक्तानी नगरेसम्म उडान अनुमती नै नदिने निर्णय गरेको छ । बक्यौता नतिरि उडान गरिरहेका वायुसेवा कम्पनी र नयाँ आउने कम्पनीहरुका लागि प्राधिकरणले यस्तो नियम लागू गरेको हो । 

नयाँ नियम अनुसार नयाँ आउने आन्तरिक एवंम बाह्य एयरलाइन्स र हाल भएका वायुसेवा कम्पनीहरुले पनि एक महिनाको सेवा शुल्क अग्रिम दिनु पर्ने क्यानका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

उनले भने ‘पछिल्लो समय विभिन्न वायुसेवा कम्पनीहरुको करोडौं रुपैयाँ भुक्तानी हुन बाकी रहेपछि क्यानले उडान अनुमतिमै कडाई गरेको हो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापत दिनु पर्ने सेवा शुल्क नदिने कतिपय कम्पनीहरु बन्द भएका छन् भने केहि विदेशी कम्पनीहरुले नेपाल उडान नै बन्द गरेका छन् । 

 नयाँ नियमले विमानस्थलको रकम नतिरी भाग्ने वायुसेवा कम्पनीहरुलाई समाउन सहज हुने विश्वास लिइएको छ । अहिले क्यानले बक्यौता रकम तिर्न हवाई कम्पनीहरुलाई ताकेता गरिरहेको छ ।

क्यानमा लामो समय देखी बक्यौता उठ्न नसकेपछि केहि महिना अघि लेखा समितिले तत्काल बक्यौता रकम उठाउन निर्देशन समेत दिएको थियो ।

त्यस्तै संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समेत यस विषयमा चासो दिएर सम्बन्धीत कार्यालयका कर्मचारीहरुलाई बक्यौता उठाउन निर्देशन दिइसकेका छन् ।

नेपालमा विदेशबाट २८ भन्दा बढि वायुसेवा कम्पनीहरुले उडान गर्दै आएका छन् भने आन्तरिक उडान ९ ओटा कम्पनीहरुले गरिरहेका छन् । 
 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top