काठमाडौं । नेपालको निर्यात व्यापारमा भारतसँगको हिस्सा क्रमिक रुपमा घट्दै गएको छ । सात वर्षको अवधिमा नेपालको निर्यात व्यापारमा विविधिकरणले भारतसंगको अंश घट्दै गएको हो ।
आर्थिक वर्ष २०६८/०६९ मा ६८ प्रतिशत वस्तु निर्यात भारतमा मात्रै थियो । सो वर्ष भारतलगायत तेस्रो मुलुकमा गरी कुल ७२ अर्ब रुपैयाँ बराबरको बस्तु निकासी भएको थियो । त्यसबेला भारतमा ५० अर्ब ३५ रुपैयाँका वस्तु निर्यात भएको थियो ।
०७५/०७६ मा आइपुग्दा भारतको हिस्सा ६२ प्रतिशतमा सीमित भएको छ । गत आर्थिक वर्षमा भारतलगायत तेस्रो मुलुकमा ९७ अर्ब १० करोड रुपैयाँको निकासी भएको थियो । सो वर्ष ६२ अर्ब ७३ करोड रुपैयाँको वस्तु भारतमा निकासी भएको थियो ।
पछिल्ला वर्षहरुमा तेस्रो मुलुकसँग व्यापार सुधार देखिएको वाणिज्य मन्त्रालयमा सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए । नेपालको निर्यात व्यापारमा भारतको हिस्सा अत्यधिक थियो । त्यो हिस्सा अहिले विस्तारै घट्दै गएको उनले बताए ।
७ वर्षको अवधिमा कुनै आर्थिक वर्ष ५७ प्रतिशतमा झरेको थियो । कुनै आर्थिक वर्षमा ६४ प्रतिशतसम्म पुगेको मन्त्रालयले जनाएको छ । औसतमा निकाल्दा नेपालको निर्यात व्यापारमा भारतको हिस्सा ६० प्रतिशत रहेको र अन्य देशसँग ४० प्रतिशत पुगेको सचिव अर्यालले जानकारी दिए ।
नेपालले नयाँ नयाँ मुलुकसँग व्यापार साझेदार गरेकाले त्यसैको असर भारतसँगको हिस्सा कम हुँदै गएको मन्त्रालयले जनाएको छ ।
कुनै समय नेपालको निर्यात व्यापारमा ७५ प्रतिशतसम्म भारतले ओटगेको थियो । त्यसलाई विस्तारै घटाउँदै लगेर ६८ मा झारियो र अहिले ६० प्रतिशतमा ल्याइएको उनको भनाइ छ ।
एउटै देशसँँग निर्यात व्यापारमा निर्भर हुँदा दुई देशबीच सामान्य समस्या आउँदा पनि त्यसको प्रत्यक्ष असर व्यापारमा देखिन्छ । निर्यात ठप्पदेखि नाकामा अवरोधसम्म हुने भएकाले सरकारले व्यापार विविधिकरणलाई मुख्य प्रथामिकता दिएको अर्यालले जानकारी दिए ।
एउटा देशसँग सामान्य समस्या उत्पन्न हुँदा व्यापारमा त्यसको असर पर्ने र व्यापार विविधिकरण हुँदा आर्थिक रुपमा देशलाई धेरै नोक्सान नहुने मन्त्रालयको बुझाई छ ।
भारतसँगको परनिर्भरता निरन्तर घट्दै गएको र त्यसको ठाउँ चीनलगायत अन्य मुलुकले लिन थालेको मन्त्रालयको बुझाइ छ । चालु आर्थिक वर्षमा भारतमा पाम आयल निकासी बढेको छ । तर भारतले पाम आयल आयातमा प्रतिवन्ध लगाएको छ ।