भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सकियो भने यस्ता नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुर्याउने बताए ।
नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने ‘यी तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिएमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो र राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्ने छ ।’
उनले सरोकारवालाहरुको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरुका व्यावसायिक अप्ठेराहरु सुल्झाउन सहयोग नै गर्नेछ र आफ्नो परामर्शमा निर्माण भएका यस्ता नियमहरुको कार्यान्वयन गर्न वास्तवमा व्यावसायीहरु आफै पनि लाग्नु पर्ने बताए ।
नेपाल निर्माण व्यावसायी महासंघको २१ औँ साधारण सभालाई आज भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै हो र त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण नै हो, ढकालले भने ।
सरकारी निकायहरु तथा विगतदेखि कार्यान्वयनमा रहेका नियमहरुका कारण कतिपय अवस्थामा निर्माण व्यावसायीहरुलाई पनि असहज बनाएको अवस्था पनि विद्यमान रहेकोतर्फ सरोकारवाला निकायले सोच्नुपर्नेमा उनेले जोड दिए ।
यसरी निर्माण व्यावसायीहरुले मात्र समयमा काम नसकेको दोष उनीहरुलाई लाग्ने गरेको छ तर पनि यस्ता प्रक्रियागत कारणहरुले उनीहरुलाई ढिला गराइरहेको गुनासाहरु सुन्ने गरिएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
उपाध्यक्ष ढकालले कार्यक्रमका प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलको ध्यानाकर्षण गराउँदै भने ‘ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको एक सक्रिय सदस्यका हैसियतले म उपप्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु कि काम थाल्नुअघिका जतिपनि प्रक्रियागत कुराहरु छन ती सबै निर्माणमैत्री बनाउन राज्यको ध्यान जाओस् ।’
उपाध्यक्ष ढकालले नेपालका निर्माण व्यावसायीहरुको व्यावसायिक हक हितको संरक्षण र सम्बद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सदा नेपाल निर्माण व्यावसायी महासंघको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।