काठमाडौं । राजश्व अनुसन्धान विभागले राजस्व चुहावटको कसूरमा ५०० भन्दा बढी व्यवसायिक संस्थालाई १५ अर्ब रुपैयाँ भन्दा बढीको मुद्धा दायर गरेको छ ।
ती व्यवसायीक संस्थालाई बिगो कायम गरी सोही आधारमा जरिवाना र ३ वर्षसम्मको कैद माग दाबी गरेर मुद्धा दायर गरेको विभागका महानिर्देशक दीर्धराज मैनालीले बताए । उनले राजश्व चुहावटमा संलग्न भएको आरोपमा ११ जना कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरिएको जानकारी दिए ।
विभागले विदेशी विनिमय अपचलनमा पनि झण्डै ५ अर्ब रुपैयाँ विगो कायम गरेर २०० जनाविरुद्ध मुद्दा दर्ता गरिएको उनले बताए । उनका अनुसार विभागले विदेशी विनिमयको कसूरमा २६ करोडको बिगो कायम गरेर ८५ मुद्दा अदालतमा दर्ता गरेको छ ।
अहिलेपनि थुप्रै व्यावसायिक फर्म अनुसनधानको दायरामा रहेको मैनालीले जानकारी दिए । विभागले ठूलो मात्रामा भ्याटका नक्कली विल बनाएर विलमात्रै लिने दिने गरेर अर्बौ कर छली गरेको फेला पारेको छ ।
कर प्रणाली भित्रै जालसाझी गरेर बैंकिङ प्रणालीलाई नै प्रयोग गरेर कारोबार नै भएजस्तो देखाएर कुनै कारोबार नगरी राज्यको खल्तीमा भएको पैसा निकालेर आम उपभोक्ताले तिरेको राजस्व बाँडडीचुँडी खाएको देखिएको उनले सुनाए ।
न्यून आर्थिक अवस्था भएको व्यक्ति तथा कामदारका नाममा फर्म दर्ता गराउने दुुई चार हजार दिएर, चिटिक्क परेका टाइसुट लगाएको फोटो खिचाएर फर्म दर्ता गर्ने, बैंकमा लगेर खाता खोल्ने, चेक दस्तखतको अधिकार दलालले लिने गरेको विभागले गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।
यस्तै एकै पटक दर्जनौं फर्म दर्ता गर्ने अनि प्रेसमा विल छापेर जसलाई जे चाहिन्छ विल बेचेर कमिसन खाने पनि अनुसन्धानका क्रममा भेटिएको छ । १५० बढी विलविजक मात्रै जारी गर्ने फर्म पहिचान, एक हजारभन्दा बढी विल खरिद गर्नेहरु नै फेला परेको र विल बिक्री गर्ने ५० भन्दा बढीलाई विभागले मुद्धा चलाएको छ ।
यसैगरी बहुराष्ट्रिय कम्पनीले २ अर्ब रुपैयाँ बराबरको नक्कली विलविजक तयार गरेर राजस्व छली गरेकोमा अनुसन्धान गरेर विभागले मुद्धा चलाएको छ । १ अर्ब ६० करोड रुपैयाँ विभागले बैंक जमानत लिएका छ ।