काठमाडौं । प्रस्तावित ७६२ मेगावाटको तमोर जलासययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम फागुनदेखि सुरु हुने भएको छ ।
लगानी बोर्डले सर्वेक्षण अनुमति दिएपछि आयोजनाको डीपीआरको काम सुरु हुने नेपाली साझेदार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनले लगानी बोर्डबाट लाइसेन्स प्राप्त हुने अवस्थामा रहेको जानकारी दिए ।
आयोजना निर्माणका लागि लगानी बोर्ड र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना) बीच समझदारीपत्र (एमओयू) भएको छ । २ वर्षभित्र निर्माणको चरणमा पुर्याउने सहमति भएको छ । यस्तै पावर चाइना र एचआईडीसीएलको साझेदारीमा रोल्पाको माडीखोला जलविद्युत आयोजनाको डीपीआरको काम सुरु भइसकेको छ ।
पावर चाइना र नेपाली साझेदार एचआईडीसीएलबीच एमओयू भइसकेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा असोज २६ गते तमोर आयोजना संयुक्त लगानीमा बनाउन पावर चाइना र नेपालको एचआईडीसीएलबीच एमओयू भएको थियो ।साझेदार पावर चाइना र एचआईडीसीएलले २ वर्षभित्र आयोजनाको निर्माण सुरु गर्ने कार्ययोजना बनाएका छन ।
तमोर बनाउन पौने २ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ । तमोरमा न्यूनतम २६ प्रतिशत नेपाली लगानी सुनिश्चित गरिएको छ ।
नेपालीले ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने छन । पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट तमोर पाएका हुन । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्ने छ । सार्वजनिक – निजी साझेदारी (पीपीपी) खाकामा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो ।
गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जामा सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो ।
हाल उक्त प्रस्तावमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले मूल्याङन गरेको थियो । समितिको मूल्याँकनअनुसार नै एमओयू भएको हो । तमोर आयोजनाबाट पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लामा पर्छ ।