काठमाडौं । ठुला पूर्वाधारमा लगानी जुटाउन नेपाल इन्फास्ट्रक्चर बैंकले विदेशमा ऋणपत्र (अफसोर बण्ड) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा ५ अर्ब रुपैयाँ लगानी जुटाउन बैंकले विदेशमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
अफसोर बण्ड निष्कासन गर्न बैंकले नेपाल राष्ट्र बैंकसंग अनुमति मागेको छ । बैंकले केन्द्रीय बैंकलाई पत्राचार गरी अफसोर बण्ड निष्कासन गर्न दिन भनेको हो । बैंक सञ्चालनमा आएपछि पहिलो पटक विदेशमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
अफसोर बण्ड निष्कासन गर्नका लागि राष्ट्र बैंकसंग अनुमति मागिएको बैंकका डेपुटी सीईओ भुपेन्द्र पाण्डेले बताए । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । अफसोर बण्ड लण्डन स्टक एक्सचेन्जमा सुचिकृत हुने उनले बताए । वेलायती संस्थाको प्रत्याभूतिमा अफसोर बण्ड निष्कासन गर्न लागेको हो ।
बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासमा लगानी गर्ने तयारी थालेको डेपुटी सीईओ पाण्डेको भनाई छ ।
२ जलविद्युतमा ३ अर्ब लगानी सम्झौता
बैंकले ७७ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा ३ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । जसअनुसार ४५ मेगावाटको मिडिल मेवामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । यो आयोजना हिमालयन बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ ।
यस्तै बैंक आफनो अगुवाइमा ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । जलविद्युत आयोजनाको अध्ययन गरेर मात्र लगानी सम्झौता गरेको पाण्डेले स्पष्टपारे । धेरै जलविद्युत आयोजनाहरुले ऋणका लागि बैकमा आवेदन दिएको र ती आयोजनाहरुको अध्ययन भइरहेको उनले सुनाए ।
बैंकले सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका आयोजनाहरुको पहिचान र आवश्यक अध्ययन गरिरहेको छ ।
बैंकसंग हाल १२ अर्ब रुपैयाँ पुँजी रहेको छ । निकट भविष्यमा ८ अर्ब रुपैयाँ प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर पुँजी २० अर्ब रुपैयाँ पुर्याँउदै छ । चालु आर्थिक वर्षभित्र आईपीओ निष्कासन गर्ने बैंकले जानकारी दिएको छ ।