काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुक भित्र काम गर्ने वातावरण नरहेको बताएका छन् । राज्यले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको प्रत्याभूति दिन नसकेकाले काम गर्ने वातावरण नरहेको उनको भनाइ छ ।
महासंघको २१ औं साधारण सभा तथा नेपाल बिल्डटेक एक्स्पोका बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले राज्य निर्माण व्यवसायीहरुलाई सुरक्षा दिन असफल भएको बताए । “विगत ३–४ महिनाको अवधिमा व्यवसायीका करीब २० करोड भन्दा बढीको उपकरणमा आगजनी गरिएको छ” अध्यक्ष सिंहले भने ।
महासंघका सल्लाहकार रमेश शर्माले असुरक्षाका कारण साइटमा मजदुरहरु बस्न सक्ने अवस्था नरहेको बताए । महासंघको २१ औं साधारण सभाले ३० बुँदे घोषणा पत्र जारी गर्दै पूर्वाधार मैत्री नीतिगत व्यवस्थाले मात्र विकास निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्न सकिने ठहर गरेको महासंघका महासचिव रोशन दाहालको भनाइ छ ।
घोषणापत्रलाई नेपाल सरकारसँग सहकार्य गरी संशोधन गर्नुपर्ने नीतिगत कार्यहरु, भ्याट तथा राजश्व, प्रतिवद्धता कार्यान्वयन, व्यवसायीक प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यवसायीक सुदृढिकरण सम्बन्धी लगायतका बुँदाहरुमा समेटिएको छ ।
महासंघको साधारण सभा सँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा सम्पन्न नेपाल बिल्डटेक एक्स्पो २०२० करीब ५ हजारले अवलोकन गरेको महासंघले जनाएको छ । महासंघले आफ्नो इतिहासमा पहिलो पटक आयोजना गरेको यस एस्क्पोमा करिब २ अर्ब बराबरको प्रतिवद्धता सहितको कारोबार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।