पोखरा । पोखराका पर्यटन व्यवसायि महिलाले व्यवसायमा आफ्नो भूमिको खोज्न छलफल चलाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आइतबार पोखरामा आयोजना गरेको पर्यटन व्यवसायमा महिला अवसर र चुनौति विषयक अन्तक्रिया बोल्दै व्यवसायी महिलाले व्यवसायलाई सफल बनाउन कसरी अगाडी बढ्ने व्यवस्थापकीय जिम्मेवारी कसरी बहन गर्ने भन्ने विषयको छलफलमा जुटेका हुन् ।
कार्यक्रममा मिडिया एड्भोकेसि ग्रुपका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार बविता बस्नेतले सामाजिक रुपान्तरणमा अग्रसर महिलाहरुले पछिल्लो समय व्यवसायमा सफल हुदै गएको धारणा राखिन् । उनले व्यवसायमा महिला आउँदा सामाजिक संरचनालाई झनै बलियो बनाएर आर्थिक समृद्धिको आधार बनाउने भएकाले निर्णय सहितको अधिकार महिलालाई दिनुपर्ने बताइन् ।
व्यवसाय र घरपरिवालाई सन्तुलित रुपमा अघि बढाउन महिलामा चुनौति रहेको उनले बताईन् । होटल ल्याण्डमार्कका संञ्चालक एंव संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले व्यवसायमा आवद्ध महिलाले आफ्ना कतिपय समस्या राख्ने फोरम नहुँदा साना साना कुरालाई पनि मनमानै राख्दा मानसिक समस्या समेत भोग्नुपरेको बताइन् ।
संस्थाका सल्लाहकार पर्यटन व्यवसायी दुर्गा ढकालले अन्तक्रिया कार्यक्रमले महिलाले जीवन भोगाइका विषयबस्तुसँगै व्यवसायिक क्षेत्रका विभिन्न सवालहरुको विषयमा बुझ्ने अवसर मिलेको बताइन् ।
आर्थिक विकासका लागि पर्यटन व्यवसाय महिला भन्ने नारा सहित स्थापित महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले सदस्यहरुको क्षमता विकासकालागि विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको मञ्चका अध्यक्ष जमुना पराजुलीले बताइन् ।
अन्तक्रिया कार्यक्रममा पर्यटन व्यवसायी शर्मिला न्यौपाने, सावित्री तिमिल्सिना,सुन्ति पुर्जा लगायतले महिला मैत्री वातावरणको अभाव र अझै पनि महिलाको क्षमतामाथि विश्वास गर्ने संस्कृतिको विकास हुन नसकेको धारणा राखिन् । उनिहरुले आफ्नो जीवन भोगाइसँगै व्यवसायिक चुनौतिका बारेमा आफ्नो अनुभव राखृका थिए ।
अन्तक्रिया कार्यक्रममा ४० जना पर्यटन व्यवसायी महिलाको सहभागिता रहेको सह–सचिव ममता न्यौपानेले जानकारी दिइन् ।