क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ ।
एक दशकको अवधीमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको तथा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ । हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको र इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।
उनले भने ‘इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।’
यस्तो छ इसेवाको दशवर्षे उतारचढाव
सन् २००९ मा बेटा भर्जन ल्याउँदा इसेवा डेक्स्टप कम्युटरबाट मात्र चलाउन मिल्थ्यो । सुरूमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन । इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याइ पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो ।
त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पीन उपलब्ध गराउन थालेको हो । सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ ।
इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले सबै एयरलाइन्स्को हरेक दिन हजारौँ जनाले इसेवामार्फत एयरलाइन्स् टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् ।
सन् २०१० मा आधिकारिक सेवा सुरू गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट थियो । २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यतिबेला इसेवाको ब्राण्ड कलर निलो बाट परिवर्तन गरी हरियो बनाइएको थियो । २०१३ बाट एजेन्ट मोडलमा गएको इसेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए ।
आजको दिनमा इसेवामा मर्चेन्टको संख्या ८० हजार पुगिसेको छ । २०१७ मा इसेवालेमोबाईल एप्लीकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्र्जनबाट इसेवाका सेवा लिन सकिने प्रणालीको विकास गर्यो । २०१६ मा नेपाल राष्ट्रबैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै इसेवाले नेपाल राष्ट्रबैंकमा इजाजतका लागि निवेदन दिएका थियो ।
२०१७ मा इसेवाले नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो । इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिब ५ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना,निशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ ।
यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजनतथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।
तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तरगत इसेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले एकहजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।
इसेवाले हालसम्म दक्षिण एशीयाली खेलकुद साग, एन्फाका विभिन्न फुटबल म्याच तथा क्रिकेटका ठुला खेलहरूको टिकट विक्री तथा व्यवस्थापन सफल रूपमा गरिसकेको छ ।