काठमाडौं । पछिल्लो समयमा प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन छाडेको छ । चालु आर्थिक वर्ष सुरु भएयता शिवश्री हाइड्रोपावर लिमिटेडको मात्र आईपीओ बजारमा आएको छ ।
शिवश्रीले ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । त्यसपछि एउटा पनि आईपीओ आएको छैन ।
गत आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डले विभिन्न २८ ओटा कम्पनीलाई ७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको ७ करोड ३४ लाख ६६ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । यो वर्षको हालसम्म एउटा कम्पनीले मात्र पाएको छ ।
बोर्डमा जलविद्युत, बीमा र लघुवित्त गरी १७ कम्पनीहरुले ६ अर्ब ६३ करोड २० लाख ५९ हजार रुपैयाँ बराबरको ६ करोड ६३ लाख २० हजार रुपैयाँको आईपीओ निष्कासन गर्न आवेदन दिएका छन ।
असोज २ गतेपछि बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छैन । अधिकाँश कम्पनीहरुले आवेदन दिएको २ वर्ष भन्दा बढी भइसकेको छ । प्रक्रिया नपुगेका कारण रोकिएको छ ।
आर्थिक वर्ष सुरु भएपछि आईपीओ निष्कासन कम देखिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए । उनले आगामी दिनमा आईपीओ निष्कासनमा कमी आउने संभावना रहेको बताए ।
वास्तविक क्षेत्र (रियल सेक्टर) नआएमा आईपीओ घट्ने उनको भनाई छ । बोर्डले रियल सेक्टरलाई धितोपत्र बजारमा आउन बाटो खुला गरेपनि आउन चाहेका छैनन ।
जलविद्युतको सेयर मूल्यमा कमी आएकाले यसको असर परेको हुन सक्ने उनको भनाई छ । बीमा कम्पनीहरुले प्रक्रियामा रहेको उनले बताए । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको प्रक्रियागत कारणले ढिलाइ भएको उनले सुनाए ।
बैंक तथा वित्तीय संस्था अधिकाँश बीमा कम्पनीहरुको आईपीओ निष्कासन भइसकेका छन । नयाँ खुलेका जीवन र निर्जीवन बीमा कम्पनीको आईपीओ आउन बाँकी रहेको उनले जानकारी दिए ।
नेपाल पुर्नबीमा कम्पनी बाहेक अन्यले बोर्डमा आवेदन दिएका छैनन । २ वर्षअघि १३ ओटा बीमा कम्पनी सञ्चालनमा आएका छन । तीनीहरुको झण्डै ८ अर्ब रुपैयाँको आईपीओ आउन बाँकी छ ।
नेपाल पुर्नबीमा बाहेक, इमर्जीङ नेपाल, माउन्टेन इनर्जी, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन हाइड्रोपावर, शुभम पावर, ग्रिनलाइफ हाइड्रोपावर, सिंगटी हाइड्रोपावर र लिवर्टी इनर्जीलगायत १७ ओटा कम्पनीको आईपीओ पाइपलाइनमा छन ।