काठमाडौं । सरकारले कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सारदर फरक गराउने बताए पनि व्यवहारमा त्यस्तो देखिएको छैन् ।
उद्योगीलाई आकर्षित गर्न कच्चा पदार्थ आयात र तयारी वस्तु आयातमा एक तहको भन्सार फरक गराउने बताए पनि कानूनमा दुवै वस्तु आयात गर्दा समान भन्सार लाग्ने बनाएको छ ।
सरकारले यस्तो चलाखी आर्थिक वर्षको बजेटबाटै गरेको हो । नेपालगञ्जका एक उद्योगीले साबुन उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर एउटै देखेपछि यस्तो रहस्य खुलेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उत्पादनमुलक उद्योगलाई प्रोत्साहन गर्ने नीति रहेको बताए पनि कानूनमा त्यस्तो उदारता नदेखाएका हुन् । व्यवसायीका अनुसार साबुनको कच्चा पदार्थको भन्सार ३९ प्रतिशत छ । तयारी साबुन ल्याउन पनि सोही दर छ ।
स्रोतका अनुसार साबुनको कच्चा पदार्थमा २० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ६ प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेछ । तयारी साबुन ल्याउँदा पनि सोही परिमाणमा सरकारलाई राजस्व बुझाउनुपर्छ ।
‘३९ प्रतिशत भन्सार तिरेर ल्याइएको कच्चा पदार्थबाट बनेको साबुनले कसरी आयातित साबुनसँग प्रतिस्पर्धा गर्न सक्छ ?’ उद्योगीले प्रश्न गरे ‘सरकारको बोलीमा विश्वास गरेर उद्योग लगाउँदा फसिने अवस्था आइरहेको छ ।’
‘साबुन उद्योग खोल्नका लागि मेसिन ल्याइसकियो, मेसिन जडान पनि भयो । साबुन उत्पादन गर्नका लागि चाहिने कच्चा पदार्थ झिकाउँदा तयारी बस्तु र कच्चा पदार्थमा समान दर रहेछ,’ ती लगानीकर्ताले भने, ‘करोडौं रुपैयाँ लगानी गरियो । अब उद्योग चलाउने कि नचलाउने भन्ने अन्यौल भयो ।’
बजेट बनाउने बेलादेखि ल्याउने बेलासम्म सरकारी अधिकारीदेखि विभागीय मन्त्रीसम्मले कच्चा पदार्थ र तयारी बस्तु आयातमा भन्सार दर एक तह फरक गर्ने बताइरहेका थिए । तर, कानून ल्याउने बेलामा समानदर बनाएर ल्याइएको रहेछ ।
नेपालमा अर्बौ रुपैयाँ लगानीमा साबुन उद्योग खुलेका छन् । नेपाललाई चाहिने धेरै साबुन नेपालमै उत्पादन हुन्छ । ‘नेपालमा उद्योग लाग्दा रोजगारी सिर्जना हुन्छ, राज्यले आयकर पाउँछ, अन्य करहरु पाइरहेको हुन्छ,’ एक उद्योगीले भने, ‘सरकारमा बस्नेले यो कुरा बुझेकै छैनन् । राज्यको यस्तो व्यवहारले कसरी नेपालमा उद्योग लाग्छ ?’
राजस्व लक्ष्य नपुगेपछि सरकारले यो बीचमा एचएस कोर्ड परिवर्तन गर्नेदेखि आर्थिक ऐनमा कच्चा पदार्थको समान दरसम्म राख्ने काम गरेको पाइएको छ ।
याे पनि पढ्नुहाेस
राजस्व बढाउन अर्थमन्त्री खतिवडाको नयाँ फन्डा, कच्चा पदार्थ आयात गर्दा पनि तयारी वस्तु सरह भन्सार