काठमाडौं । यसअघि दश दिन कुखुराको चल्ला र अण्डा नष्ट गरेर ‘चिकेन हलिडे’ भएयता चल्ला र दानको मुल्य हरेक दिन बढेको बढ्यै छ । ह्याचरी उद्योगीले मिलेमतोमै जिउँदो चल्ला र अण्डाको उत्पादन रोकेपछि अहिले किसान मारमा परेका छन् ।
चल्ला र दानको भाउ बढ्दै गएसँगै कुखुरापालक किसानले चल्ला हाल्न नसक्दा मासुको मुल्य समेत महंगिएको छ । अघिल्लो महिना २६० रुपैँया प्रतिकेजी कुखुराको मासु विक्रि भएपनि पछिल्लो पटक ४३० रुपैयाँसम्म पुग्यो । अहिले पनि कुखुराको मासुको मुल्य ४ सय हाराहारी नै छ ।
ह्याचरी उद्योगीले कुखुरा मासुको मुल्यमात्रै बढाएनन् । यो बीचमा दाना र चल्लाको मुल्य पनि हप्तामै बढाउँदै लगे । दुइ हप्ताअघि ३५ रुपैयाँले प्रतिगोटा चल्ला भएपनि अहिले मुल्य बढाएर ६५ देखि ७० रुपैयाँसम्म चल्लाको मुल्य पु¥याएको किसान बताउँछन् । दुइ हप्तामै ३० देखि ४० रुपैयाँ चल्लामा बढेको किसानको भनाइ छ ।
यता, दानाको मुल्य पनि बढेको बढ्यै छ । चल्ला र दानाको मुल्य बढाउने उद्योगीप्रति सरकारले कुनै काम कारबाही अघि बढाएको छैन् । कुखुराको मासु र अण्डाको मुल्य बढेपनि सरकारी नियामक निकाय मौन छ ।
किसानले चल्ला र दानाको मुल्य बढेपछि चल्ला हाल्नै छाडेको कुखुरापालक किसान संघका अध्यक्ष झनक पाैडेलले बताए । उनीहरुले सरकार ह्याचरी र दाना उद्योगीसँग मिलेर आफुहरुलाइ ठग्न खोजेको बताइरहेका छन् । अहिले कुखुरापालक किसानले भने दाना र चल्लाको मुल्य बढेपछि वाणिज्य विभागमा विरोध तथा धर्ना समेत दिए ।
राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिले विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाइ भेटी आफ्नो गुनासो र माग राखेका छन् । ‘दाना र चल्लाको मुल्य अस्वभाविक बढ्दा पनि सरकारले अनुगमन गर्दैन् । घाटा खाइ—खाइ चल्ला हाल्न हामीले सक्दैनौं’ उनले थप गुनासो गर्दै थपे, ‘हामी अन्यायमा परेका छौं ।’
किसानले चल्ला र अण्डाको मुल्यमा ह्याचरी र दानावालाले कालोबजारी गरेकाले तत्काल कारबाही गर्नुपर्ने बताए ।
विभागका महानिर्देशक सुवेदीले आफुले ह्याचरी र कुखुरा व्यवसायीलाइ बोलाएर छलफल गरी स्पष्टीकरण सोधिएको बताए । मुल्य बढाउने त्यस्ता उद्योगीलाइ नछाडिने उनले बताए । यद्यपी, विद्यमान कानुन, प्रक्रिया र मापदण्डअनुसार जानुपर्ने अवस्थाका कारण पनि केही ढिला भएको उनले बताए ।