काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई हातमा लिएर बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षले जनताको पैसामाथि रजाई गरिरहेका छन् ।
नियामक निकायलाई रिझाएर बैङ्कका सीईओ र अध्यक्षहरुले मनलाग्दी जनताको पैसामाथि रजाई गरेको राष्ट्रबैङ्कका अधिकारीहरु बताउँछन् ।
‘बैङ्कमा ९५ प्रतिशत पैसा सर्वसाधरण जनताको हुन्छ । पाँच प्रतिशत वा सो भन्दा कम मात्र अध्यक्षको लगानी हुन्छ । पाँच प्रतिशतभन्दा कम लगानी गरेकाले ९५ प्रतिशतको पैसामाथि रजाई गरेका छन्,’ राष्ट्रबैङ्क स्रोतले भन्यो, ‘राष्ट्रबैङ्कको सुपरीवेक्षण विभागलाई साथमा दिएर उनीहरुले रजाई गरेका छन् ।’
महँगा पेन्टिङ किन्नेदेखि विभिन्न मेला महोत्वसमा स्पोन्सरसमेत बैङ्ककै पैसाबाट गरिँदासम्म राष्ट्र बैङ्कले ती अध्यक्ष तथा सीईओमाथि कारबाही गरेको छैन् । बरु उनीहरुसँगै मिलेर अघि बढेको स्रोतको दाबी छ ।
‘जनताको पैसाबाट अध्यक्ष तथा सीईओले आफ्नो सोख पूरा गरिरहेका छन्,’ राष्ट्र बैङ्कका ती अधिकारीले भने, ‘जनताको पैसामाथि उनीहरुले मनमौजी गर्दा पनि कारबाही गर्ने आट गरेका छैनन् ।’
आफ्नो सम्पूर्ण खर्च बैङ्कको पैसाबाट चलाइरहेको तथ्य बाहिर आइरहे पनि अहिले बैङ्कका सञ्चालकदेखि अध्यक्ष र सीईओले आफ्नो रहर पूरा गर्न पनि जनताको पैसा खर्च गरिरहेका छन् ।
राष्ट्र बैङ्क स्रोतका अनुसार केही बैङ्कका अध्यक्षले १५ लाख रुपैयाँ खर्चिएर पेन्टिङ किनेका छन् । ‘त्यसरी जनताको पैसा खर्च गरेर पेन्टिङ किन्दा लगानीकर्तालाई त्यसले के फाइदा पुग्छ ?’ स्रोतले भन्यो, ‘बैङ्कका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुले अध्ययन नै नगरी त्यस्ता सामग्री किन्न वा मेला महोत्सवमा खर्च गरिरहेका छन् ।’
आफ्नो सम्बन्ध बलियो बनाउन बैङ्कका अध्यक्षहरुले मनलाग्दी रुपमा पैसा बाडिरेहका छन् । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टका अनुसार बैङ्कका अध्यक्ष तथा सीईओहरु बैङ्कको नाफा खुम्चिएकाले स्प्रेडदरको गणनाविधि परिवर्तन गराउने लाग्ने र अर्कोतिर मनलाग्दी रुपमा खर्च गर्ने प्रवृत्ति नरोख्नेतर्फ नलाग्ने । उनीहरुले भनेको दुई ओटा कुरा एक आपसमा मेल नखाने भट्टको भनाइ छ ।
बैङ्कहरुले आफ्नो सञ्चालन खर्च घटाउनै पर्छ । सञ्चालन खर्च नघटाई नाफा बढ्न सक्दैन । एकातिर बैङ्कले निक्षेपकर्तालाई दिने ब्याजमा कमी गरिरहेका छन्, अर्कोतिर ऋणीबाट पनि बढी ब्याज लिइरहेका छन् । तर, उनीहरु खर्च घटाउनेतिर लागेका छैनन् ।