काठमाडौं । ब्लु इनर्जी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ । ऋण लगानीको सहनेतृत्व कुमारी बैंक गर्ने भएको छ ।
अगुवाइ र सह अगुवाइ गर्ने बैंकको टुङो लागेको छ । अन्य बैंकहरुसंग छलफल भइरहेको ब्लु इनर्जीका सञ्चालक निरन्जन रेग्मीले बताए । उनले अब छिट्टै ऋण लगानी सम्झौता हुने जानकारी दिए ।
आयोजना बनाउन १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत बैंकहरुको ऋण र बाँकी २५ प्रतिशत संस्थापकहरुबाट स्वपूँजी (इक्विटी) लगानी हुने रेग्मीले बताए । आयोजनामा सरार्फ ग्रुपको मुख्य लगानी हुने छ ।
यस्तै, हङकङको डोमिन्स होल्डिङस र नेपाली लगानीकर्ताको स्वपुँजी हुने छ । सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ ।
कम्पनीले नेपाल विद्युत प्राधिकरणसंग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ । वर्षादको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ ।
आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा बनाउने कम्पनीको तयारी छ । ब्लु इनर्जीले विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । आयोजनाबाट २०८१ देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।
आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुने छ । नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।
आयोजनाको मुल संरचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।
आयोजनाले १८ किलोमिटर लामो २२० केभी प्रसारणलाइन निर्माणका लागि सरकारबाट लाइसेन्स लिने भएको छ । मकैसिङमा रहने विद्युत गृहबाट उत्पादन हुने बिजुली तनहुँको आवुखैरेनी गाउँपालिकास्थित प्रस्तावित मार्खिचोक सवस्टेशनमा जोडिने छ । प्रसारणलाइन निर्माण गर्न ३ वर्ष लाग्ने आयोजनाले जनाएको छ ।