काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको सदाचार नीतिलाई चुनौती दिँदै नेपाल राष्ट्र बैङ्कले १५ ओटा भन्दा बढी सवारी साधन खरिद गरेको छ । राष्ट्र बैङ्कले मङ्गलबार निसान र फोर्ड कम्पनीका ती सवारीसाधन किनेको हो ।
केही दिन अघि मात्रै अर्थमन्त्री खतिवडाले कुन कर्मचारीलाई सवारी साधन आवश्यकता पर्ने, कत्रो कोठा चाहिनेलगायतको मापदण्ड बनाउने बताए पनि राष्ट्र बैङ्कले उनको अभियानलाई चुनौती दिएको हो ।
अर्थमन्त्री खतिवडाले सरकारी निकायले अन्धाधुन्ध गाडी खरिद गर्न थालेको र व्यापक अनियमितता बढ्दै गएपछि मापदण्ड बनाउने बताइरहेको थिए । तर, अर्थले मापदण्ड बनाउनु पूर्व नै ठूलो परिमाणमा गाडी भित्र्याइएका छन् ।
खतिवडा राष्ट्र बैङ्कको कार्यकारी निर्देशक हुँदा तीन जनासम्मले सेयर गरेर एउटा गाडी चढ्ने गरेका थिए । तर, अहिले निर्देशनलाई नै एउटा गाडी दिने गरी नयाँ किनिएका हुन् ।
राष्ट्र बैङ्कमा रहेका निर्देशकलाई एक/एक ओटा गाडी सुविधा दिने योजना सहित ठूलो सङ्ख्यामा गाडी किनिएको हो । अर्थमन्त्री खतिवडा गभर्नर हुँदा ४ जना गभर्नरले प्रयोग गरेको गाडी चढेका थिए ।
तिलक राबल गभर्नर हुँदा किनेको गाडी त्यसपछिका गभर्नर दीपेन्द्र पुरुष ढकाल, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री हुँदै खतिवडाले प्रयोग गरेका थिए ।
तत्कालीन गभर्नर खतिवडाले एक करोड रुपैयाँ नयाँ गाडी खरिद गर्ने योजना अघि सारे पनि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका कारण पछि हटेका थिए ।
भट्टराईले नेपालमै बनेको मुस्ताङ म्याक्स चढेपछि उनले गाडी किन्न खोज्दा राष्ट्र बैङ्कबाटै सदाचार नीति उल्ङ्घन भएको भन्दै प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारमा उजुरी समेत परेको थियो ।
याे पनि पढ्नुस, अन्धाधुन्ध गाडी किन्ने प्रवृत्ति रोक्न कानून बनाइँदै, कुन तहको कर्मचारीलाई के सुविधा दिने मापदण्ड बन्ने
त्यतिखेर भट्टराइले पनि सदाचार नीति अङ्गालेको भन्दै आफूले मुस्ताङ म्याक्स चढे पनि सुरक्षाकर्मी, अन्य उच्चपदस्थहरुले भने करोडौ मूल्य पर्ने गाडी चढेका थिए । यद्यपि महँगो गाडी चढ्ने क्रम अहिले पनि कायम छ ।
त्यसपछि भने खतिवडाले नयाँ गाडीको सपना त्यागेका थिए । त्यसयता उनले नयाँ गाडी भित्र्याउन कडाइ गर्दै आएका छन् । राष्ट्र बैङ्कमा हुँदा पनि उनले सकेसम्म नयाँ गाडी नभित्र्याउने नीति अख्तियार गर्दै कर्जामा कडाइ गरेका थिए ।