काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनसँग जोड्ने ४०० केभीए क्षमताको गल्छी—रसुवागढी—केरुङ प्रसारण लाइनको ज्वाइन्ट डीपीआर गर्ने सम्वन्धी बैठक चैतमा हुने सम्भावना कम देखिएको छ । चैतमा हुने भनिएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीबीचको ज्वाइन्ट डीपीआर बैठक चीनमा फैलिएको कोरोना भाइरसका कारणले अनिश्चित बनेको हो ।
आयोजना अघि बढाउन दुइ देशबीच संयुक्त प्राविधिक बैठक बसेर ज्वाइन्ट डीपीआर र लोडफ्लो स्टडीको बिषय टुङ्ग्याउने योजना थियो । तर, कोरोना भाइरसको संकमण फैलिएसँगै अहिले चीनका सरकारी कार्यालय बन्द छन् भने प्राविधिक टोली पनि नेपाल आउन सकेका छैनन् ।
चीनमा गर्ने भनिएको बैठकमा पनि नेपालका सरकारी प्रतिनिधी तथा प्राविधिक टोली जाने सम्भावना कम छ । ‘चैतमा ज्वाइन्ट डीपीआर र लोडफ्लो स्टडीका बारेमा दुइपक्षीय प्राविधिक बैठक गर्ने निर्णय भएको हो’ आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले भने, ‘तर, कोरोना भाइरसको संकमण हुन थालेपछि बैठक पनि बिथोलियो । तर, हाम्रोतर्फबाट वातावरणीय प्रभाव मुल्यांक(इआए) लगायतका काम सकिन लागेको छ ।’
यसअघि नेपाल र चीनबीच प्रसारण लाइन आयोजना अघि औपचारिक तथा अनौपचारिक सहमति भएको आत्रेयले बताए । वन तथा वातावरण मन्त्रालयले आयोजनाको इआए स्वीकृती गरिसकेको छ । उच्च क्षमताका आठओटा प्रसारण लाइन जोड्नेगरी गल्छीदेखि १२ किलोमिटर अघि रातामाटेमा सवस्टेशन बनाउने योजना छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजनाको अनुदान सहयोगमा बन्ने सवस्टेशन र प्रसारणलाइ रातामाटेमा जोडिनेछ । त्यहाँबाट केरुङ हुँदै चीनतर्फ विद्युत् पारवहन गर्न यो प्रसारण लाइन कोशेढुंगा हुनेछ ।
चीनको ल्हासादेखि रातमाटे जोड्ने चार सय केभी, लप्सीफेदीदेखि रातमाटे आउने चार सय केभी, रातमाटे—दमौली—न्यु बुटवल जाने चार सय केभी र रातमाटेबाट हेटौँडा जोड्ने चार सय केभी प्रसारण लाइन रातमाटे सबस्टेसनमै जोडिनेछ । प्रस्तावित १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणपछि उत्पादित विद्युत् पनि यसै ग्रीडमा जोडिनेछ ।
त्यसैगरी त्रिशूली ३ ‘बी’ बाट रातमाटे जोड्ने दुई सय २० केभी प्रसारण लाइन, धादिङ—तातोपानी—बोरुङ दुई सय २० केभी प्रसारण लाइन, बोरुङ—रातमाटे दुई सय २० केभी र मस्र्याङ्दीदेखि काठमाडौं जोड्ने प्रसारण लाइनलाई पनि रातमाटे सबस्टेसनमै लैजाने गरी सर्भे भएको आत्रेयको भनाइ छ । डीपीआर भएपछि पाँच वर्षभित्र गल्छी—रसुवागढी—केरुङ चार सय केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्छ ।