काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षहरुमा बीमाको उल्लेख्य विस्तार भएको बताएका छन ।
२२ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको भन्दै उनले यसलाई बढाउन सुझाव दिएका छन । राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सवलाई आइतबार राजधानीमा सम्बोधन गर्दै उनले बीमाको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्नेमा जोड दिए ।
बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनी रहेकालाई पनि समेट्ने गरी लाग्न उनले संस्थान व्यवस्थापनलाई सुझाव दिए ।
सो अवसरमा बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले नेपालको बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफनो वित्तीय विवरणहरुको पारदर्शितामार्फत स्वस्थ व्यवसायिकताका माग पहिल्याउन सक्नुपर्नेमा जोड दिए ।
आगामी दिनमा संंस्थानले छिटो छरितो सेवा प्रदान गर्ने वातावरण तयार गरी बीमा क्षेत्रको प्रतिष्ठा जनमानसमा गराउने र आफनो जिम्मेवारीलाई आत्मसात गर्दै कार्यलाई मर्यादित तथा गुणात्मक तुल्याउने दिशामा अगाडि बढाउन उनले आग्रह गरे ।
संस्थानका प्रशासक कविप्रसाद पाठकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशसम्म जीवन बीमा कोषमा रहेको २ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ मध्ये संस्थानको २५ अर्ब ९६ करोड रुपैयाँ रहेको जानकारी दिए । सो अवधिमा संकलित बीमाशुल्क ४७ अर्ब छ करोड मध्ये संस्थानको ५ अर्ब ६९ करोड रुपैयाँ रहेको पाठकले जानकारी दिए ।
बीमा कोष र बीमा शुल्क संकलनमा संस्थानको हिस्सा क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ । त्यस्तै गरी संस्थानमा कूल बीमालेख संख्या संख्या ६ लाख ८९ हजार रहेको छ ।