काठमाडौं । उद्योगीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले आत्मनिर्भर भएका उत्पादनको सूची बनाउने भएको छ । अहिलेसम्म कुन वस्तुका नेपाल आत्मनिर्भर छ भन्ने तथ्याङ्क सरकार तथा निजी क्षेत्रसँग नभएपछि सीएनआईले त्यसको अध्ययन थालेको हो ।
सरकारले धेरै उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरेपनि त्यसको तथ्याङ्क न सरकारसँग छ, न निजी क्षेत्रसँग नै छ । यसले सरकार र उद्योगीलाई पनि लगानीका क्षेत्र पहिचान गर्न समस्या परिरहेको छ । सोहि कारण सीएनआईले आत्मनिर्भर भएका वस्तुको सूची तयार गरेर सरकारलाई बुझाउन लागेको हो ।
‘सिमेन्ट, रड, जस्तापाता, पाइप तथा फिटिङ्स, केही प्रकारका औषधि, कुखुराको मासु, अन्डा, दानालगायतको सूची तयारी भइसकेको छ । ‘त्यसबाहेक अन्य कुन कुन क्षेत्रमा हामी आत्मनिर्भर भइसकेका छौं भनेर अध्ययन भइरहेको छ’ एक उद्योगीले भने, ‘नेपालको माग र ती वस्तुको उत्पादनलाई आधारमा मानेर आत्मनिर्भरको सूची बनाइएको हो ।’
आत्मनिर्भर भएको क्षेत्रले नेपालको अर्थतन्त्रमा कति योगदान गरेको छ ? ती वस्तुको बार्षिक उत्पादन कति छ ? कति सङ्ख्यामा रोजगारी पाएका छन् ? त्यो क्षेत्रको समस्या के के हुन भन्ने विषयमा समेत सीएनआईले अध्ययन गरिरहेको छ । उक्त अध्ययन सकेपछि अर्थमन्त्रालयलाई बुझाउने तयारी छ ।
विगतमा व्यापार घाटा बढाउन ठूलो सहयोग गरेको सिमेन्ट तथा रडको आयात पूर्ण रुपमा बन्द भइसकेको छ । त्यसैगरी, औषधिका धेरै प्रकारमा नेपाल आत्मनिर्भर भइसकेको अध्ययनबाट देखिएको छ ।
अर्थमन्त्रालयले आत्मनिर्भर भएका वस्तुलाई थप संरक्षण तथा प्रोत्साहित गर्न विशेष सुविधा दिने बताएपछि निजी क्षेत्रले त्यस्ता वस्तुको सूची बनाउन लागेको हो ।
जुन जुन वस्तुमा नेपाल आत्मनिर्भर भइसकेको छ । त्यसलाई थप प्रतिस्पर्धी बनाउन र निर्यातका लागि प्रोत्साहन गर्ने अर्थको तयारी छ । सरकारले विगतदेखि नै आत्मनिर्भर भएका वस्तुको पहिचान गर्ने बताए पनि त्यो सम्भव भएको थिएन । त्यही भएर अहिले निजी क्षेत्रले त्यसको सूची तयार गरेको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार जुन जुन वस्तुमा नेपाल आत्मनिर्भर भएको छ । ती वस्तुको कच्चा पदार्थ आयातमा विशेष छुट दिने तयारी छ । त्यसैगरी निर्यातका लागि पनि विशेष सुविधा उपलब्ध गराउने अर्थले बताएको छ ।