काठमाडौं । कालिका ग्रुप अन्तर्गतको कालिका पावर कम्पनी लिमिटेडले ६२ मेगावाटको भोटेकोसी पाँचौ जलविद्युत आयोजना बनाउने भएको छ । गोरखामा ६ मेगावाटको दरौंदी ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको कालिकाले ठुलो आयोजनामा लगानी विस्तार गर्न लागेको हो । निर्माण व्यवसायमा अब्बल कालिका ग्रुपले लगानीलाई विविधकरण गरी जलविद्युतमा बढाएको छ ।
कालिकाले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) समेत निष्कासन गरिसकेको छ । विद्यत विकास विभागले कालिकालाई विद्युत अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । ३५ दिनपछि विभागले कम्पनीलाई लाइसेन्स दिने छ । लाइसेन्स पाएपछि निर्माण अघि बढाउने तयारी कालिकाको छ ।
आगामी सन २०२३ सम्म अर्थात २०८० पुस १५ गतेसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढेको कालिकाका कार्यकारी निर्देशक निकोलस पाण्डेले बताए । उनले आगामी अप्रिलदेखि आयोजनाको निर्माण सुरु गर्ने जानकारी दिए ।
लगानी जुटाउन नेपाली बैंक र विदेशी वित्तीय संस्थासंग कुरा भइरहेको उनले सुनाए । लगानी सम्झौतामा ढिलाइ हुने भएकाले कम्पनीले हाल स्वपूँजी (इक्विटी) बाट निर्माण सुरु गर्ने उनले स्पष्टपारे । आयोजना बनाउन करिव ११ अर्ब रुपैयाँ अर्थात १० करोड ४१ लाख डलर लाग्ने देखिएको छ ।
आयोजना सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको छ । आयोजनाबाट वार्षिक ३६ करोड २८ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको कुलहेड १४६ मिटर अग्लो छ ।
३१ मेगावाटका दुईओटा भर्टिकल फ्रान्सिस टर्वाइनमा पानी खसालेर बिजुली उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको बाह्रविसेमा रहेको २२० केभी प्रसारणलाइनमा जोड्ने गरी प्रस्ताव गरिरहेको छ ।
चिमिले जलविद्युत कम्पनीले पनि सोही नदीमा १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । आगामी डेढ वर्षमा सो आयोजना सम्पन्न हुने छ ।