काठमाडौं । डोल्मा ग्रुप अन्तर्गतको डोल्मा हिमालयन इनर्जीले २ वर्षभित्र १५० मेगावाटको सौर्य उर्जा उत्पादन गर्ने भएको छ । डोल्माले ब्याट्रीसहितको सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न स्थान छनौट गरिरहेको छ । यहि महिनाभित्र लगानी बोर्डबाट ऊर्जा उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिएर प्रविधि जडानका लागि संभाव्यता अध्ययन थाल्ने कम्पनीले जनाएको छ ।
डोल्माले प्रदेश २, ५ र सुदुरपश्चिममा सोलार प्रविधि जडान गर्ने क्षेत्रको अध्ययन गरिरहेको प्रवन्ध निर्देशक डा.सन्दीप शाहले बताए । उपयुक्त स्थानको पहिचान भएपछि लाइसेन्स लिने र सोलार प्लाण्ट जडान गर्ने उनले जानकारी दिए । कम्पनीले सोलारबाट उत्पादन हुने बिजुली ब्याट्रीमा सञ्चय गर्ने र बढी माग हुने समयमा बिजुली प्रवाह गर्ने उनले बताए । उनका अनुसार यस्तो प्रबिधि नेपालमा पहिलो हो ।
१५० मेगावाट बिजुली उत्पादन गर्न ३ लाख सोलार प्यानल जडान हुनेछ । यस्तै न्युनतम १५० हेक्टर जमिन आवश्यक पर्ने उनले बताए । बिजुली सञ्चित गर्न १ सय मेगावाटको ब्याट्री जडान गरिने छ । यसको लागि १५ करोड अमेरिकी डलर अर्थात (करिब १६ अर्ब रुपैयाँ) लगानी जुटिसकेको शाहले जानकारी दिए ।
उनका अनुसार इन्फ्राको एसिया सिङ्गापुर, नेदरल्याण्डको एफएमओ अन्तर्र्गतको क्लाइमेन्ट इन्भेष्टर वान र डोल्माले संयुक्त रुपमा १५ करोड डलर लगानी गर्ने सहमति भएको छ । लाइसेन्स पाउने बित्तिकै लगानी जुट्ने उनको भनाई छ । डोल्मा हिमालयनले लगानी वोर्डबाट पहिलो चरणमा सोलार प्रविधि र बिजुली सञ्चय गर्ने ब्याट्रीसहित २० करोड डलर (करिब २० अर्ब रुपैयाँ) लगानी स्वीकृत गरिसकेको छ ।
पाँच चरणमा गरेर डोल्माले ७ सय ५० मेगावाट सोलारबाट बिजुली उत्पादन गर्न लक्ष्य लिएको छ । बिजुली भण्डारन गर्न १ सय मेगावाटको ब्याट्रीसहित ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
ब्याट्रीसहितको सोलार प्रविधि सञ्चालन भएमा भारतबाट बिजुली आयात घटाउन सकिने छ । यसले ऊर्जा सन्तुलनमा ठुलो भुमिका खेल्ने दावी शाहको छ ।
डोल्माले पहिलो चरणमा मुस्ताङको लोमान्थाङ र रसुवाको लाङटाङ भ्यालीमा ब्याट्रीसहितको सोलार प्यानल जडान गर्नेछ । नेपाल–चीन सीमानामा रहेको लोमानथाङमा सोलार प्रविधि जडान गरेर ३ सय मेगावाट बिजुली उत्पादन गरी कालिगण्डकी करिडोर हुँदै बिजुली खपत केन्द्रसम्म ल्याउने तयारी कम्पनीको थियो ।
तर, सीमा क्षेत्रको सुरक्षाको काराण देखाउँदै सरकारले डोल्माको लाइसेन्स खारेज गर्यो । सो क्षेत्रमा अध्ययनका लागि डोल्माले ६ करोड रुपैयाँ खर्च गरिसकेको साह बताउँछन । बिजुली उत्पादन गर्ने योजना पछि धकेलिएको हो । यस्तै चिलिमेमा भौगोलिक कारणले संभाव्य नभएपछि डोल्माले ३ ओटा प्रदेशमा जग्गाको खोजी गरिरहेको छ ।
विद्युत प्राधिकरणले सोलारको बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३० रुपैयाँ निश्चित गरेको छ । ठुला ब्याट्री खरिद गर्न लागत बढी पर्ने भएकाले जलासययुक्त आयोजनाको बराबर बिजुलीको मूल्य दिनुपर्ने प्रस्ताव डोल्माको छ । यद्यपी नेपाल विद्युत प्राधिकरणसंग छलफल हुन बाँकी छ ।
सोलार प्रविधिबाट सुख्खा र वर्षात दुबै मौसममा बिजुली उत्पादन गर्न सकिन्छ । ब्याट्रीको आयु १८ वर्षसम्म हुनेछ । दुई वर्षअघि असारमा भएको ३१ औं लगानी बोर्ड बैठकले डोल्मालाई सोलार प्रविधिबाट बिजुली उत्पादन र बिजुली सञ्चय गर्न ब्याट्री जडान गर्न अनुमति दिएको थियो ।
डोल्माको ३ जलविद्युत आयोजनामा लगानी
डोल्माले ४१ मेगावाट क्षमताका ३ जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ लगानी गरेको छ । गैरआवासिय नेपालीको लगानीमा निर्माणधिन २८ मेगावाटको तल्लो लिखु, १३ मेगावाटको सुरी आयोजनामा लगानी गरेको छ । लिखुमा ५० करोड, सुरीका आयोजनामा ३० करोड रुपैयाँ लगानी गरेको छ । दुबै आयोजना निर्माणधिन अवस्थामा छन ।