काठमाडौं । काठमाडौं महानगरपालिकाले मृगौला रोगीको उपचारका लागि बीरेन्द्र सैनिक अस्पताल छाउनीलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जङ्गी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई उक्त रकम हस्तान्तरण गरेका छन ।
महानगरले र नेपाली सेनाबीच गत पुष २ गते नै सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम माघ ७ गतेबाट महानगरको शिफारिसमा हेमोडाईलासिस सेवा शुरु भइसकेको छ । यो सेवा लिनेमा वडा १५ डल्लुकी ६४ बर्षिया चन्द्र महर्जन पहिलो लाभग्राही रहेकी छन । त्यसपछि वडा १५ स्वयम्भूकी ४७ बर्षिया सुवर्णमैयाँ ताम्राकार (स्थापित) र वडा २३ ओमबहालकी ७५ बर्षिया लक्ष्मी श्रेष्ठले हेमोडाइलासिस गराइरहेकी छन ।
अस्पतालमा सेवा बिस्तार गर्नका लागी आवश्यक पूर्वाधार, मेसिन तथा उपकरण र जनशक्ति सम्बन्धि नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ ।
महानगरले शुरु भएको यो कार्यक्रमलाई निरन्तर बिस्तार गर्दै लगिने महानगर प्रमुख शाक्यले बताए । उनले भने‘जटिल दालको रोगका लागि बिशेषज्ञ उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरेको हो । उपचारका क्रममा आवश्यक पर्ने अन्य सेवा थप्दै लग्ने छौं ।’
महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ ।
सम्झौता बमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरका प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा महानगरकातर्फबाट सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ सदस्य र जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रबिलास बज्राचार्य सदस्यसचिव रहेका छन । त्यस्तै नेपाली सेनाकातर्फबाट बीरेन्द्र सैनिक अस्पताल छाउनीका निमित्त कमान्डान्ट सहायक रथी नगेन्द्रकुमार के. सी. र महासेनानी डा. अजय राजभण्डारी सदस्य रहेका छन ।