काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामि चैत्रमा हुने महासंघको ५४ औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका बर्तमान उपाध्यक्ष हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु चण्डीराज ढकाल, सुरज बैद्य, व्यवसायीहरु शशिकान्त अग्रवाल, साहिल अग्रवाल, कृष्ण ताम्राकार, लोकमान्य गोल्छालगायतको उपस्थिती थियो । कार्यक्रममा ६३ जिल्लाका जिल्ला अध्यक्ष तथा पाँच प्रदेशका प्रदेश अध्यक्षहरुको समेत उपस्थिती थियो ।
कार्यक्रममा ढकालले आफू सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै उनले भने ‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्छु ।
साथै उनले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमाकाँध मिलाएर अगाडि बढ्ने बताए । ‘महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो ’ उनले भने ।
महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति रहेका ढकाल यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भइसकेका छन् । उनी आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक पनि हुन् ।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।
ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष पनि हुन् । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत रहेका छन् ।