काठमाडौं । पछिल्लो समय दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण बढेपछि अध्ययनका लागि त्यहाँ गएका नेपाली विद्यार्थीहरुलाई घर फर्कन सूचना (नोटिस) जारी गरिएको छ ।
‘कोरिया तपाईहरुको लागि सुरक्षित नहुन पनि सक्छ, कलेजले जारी गरेको नोटिसमा भनिएको छ, त्यसैले १ महिनाका लागि घर जान सक्नुहुन्छ ।’
त्यहाँका कलेजहरुले बिहीबार विहान नोटिस जारी गरेपछि अध्ययनरत विद्यार्थीहरु घर कसरी घर फर्कने भन्ने चिन्तामा छन् । केही महिनाअघि मात्र अध्ययनका लागि कोरियामा पठाएको छु, अहिले कोरोनाले गर्दा बच्चालाई नेपाल कसरी फर्काउने हो, एक अभिभावकले भने ।
कोरियामा रहेका कलेजले आफ्नै खर्चमा नेपाल फर्कन भनेपछि अभिभावकहरु थप चिन्तामा परेका छन् । एकातिर आफ्नो छोराछोरीलाई कोरोनाको संक्रमण होला भन्ने चिन्ता छ भने अर्कोतर्फ कसरी नेपालमा फर्काउने भन्ने विषयको चिन्ता बढेको ती अभिभावकले क्यापिटलसँग गुनासो गरे ।
अहिले अध्ययनका लागि कोरियामा करिब १ हजार विद्यार्थीहरु गएका छन् भने कामका लागि करिब ४६ हजार नेपालीहरु त्यहाँ छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालबाट अहिले श्रमिकको रुपमा युवाहरु जान रोकिएका छन् ।
ठूलो संख्यामा नेपालीहरु रहेको कोरियामा पनि कोरोनाको प्रभाव बढेपछि अहिले नेपालीहरु त्रसित भएका छन् । तर,उनिहरुलाई अहिले नै नेपाल फर्काउने वा त्यही राख्ने भन्ने विषयमा सरकारले कुनै निर्णय गरेको छैन् ।
सरकारले निर्णय नगरिरहेकै अवस्थामा त्यहाँका कलेजहरुले घर फर्कन नोटिस जारी गरेको कारण अभिभावकहरुमा थप चिन्ता बढेको देखिन्छ । केहि समयअघि चीनबाट १७५ जना विद्यार्थीहरुलाई सरकारले उद्धार गरेर ल्याएको थियो । कोरोनाका कारण दक्षिण कोरियामा हालसम्म २७ जना भन्दा बढिको ज्यान गइसकेको छ ।