चिप्लेढुङ्गा । नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवी बनाउन सफल तत्कालिन संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री रविन्द्र अधिकारीको अकल्पनीय निधन भएको आज एक बर्ष भयो । ताप्लेजुङमा हेलिकप्टर दूर्घटनामा निधन भएका भएका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य थिए । कास्कीको तत्कालिन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मिएका उनी सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्थे ।
२०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेका अधिकारीले विभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्वबियूका केन्द्रीय अध्यक्ष जिम्मेवरी सम्हाले । उनले २०४५ सालमा पार्टीको संगठित सदस्यता लिएका थिए । २०६४ र २०७० सालको संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट र २०७४ सालको प्रतिनिधि सभामा कास्की क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।
उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिम्मेवारी सम्हालेनका थिए । उनको निधन पश्चात २०७६ जेठ १८ गते योगदानलाई चीरस्थायी बनाउन रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको स्थापना गरिएको छ । जसको अध्यक्ष रवीन्द्र पत्नि विद्या भट्टराई छिन् ।
पोखराका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको नजरमा रवीन्द्र अधिकारी
कवि एवं कलाकार रमेश श्रेष्ठ :
२०४३ सालमा मेरो रविन्द्रसँग पृथ्वीनारायण क्याम्पसमा भेट भएको हो । त्यहि समय देखिको आत्मियता ऊ जिवित रहँदा सम्म कायम रह्यो । मिलनसार, जुझारु, हँसिलो अनुहार र सबैसँग आत्मिय सम्बन्ध विस्तार गर्न सक्ने उसँग गजबको विशेषता थियो । फरक विचार र स्वभावका व्यक्तिहरुलाई समेत आफ्नो प्रभावमा पार्न सक्ने क्षमता उसँग थियो । यहि गूण र विशेषताले नै हुनुपर्छ उसलाई निरन्तर चुनावमा बिजयी हासील गराउँदै राजनीतिक सफलता मिल्दै गयो । रवीन्द्र अधिकारी एउटा समयले जन्माएको क्यारेक्टर हो । नयाँ पुस्ताले आर्दश मान्ने क्यारेक्टर उसमा थियो ।
पर्यटन व्यवसायी विप्लब पौडेल :
रविन्द्र अधिकारीलाई म एक असल साथी र दूरदर्शी विकास प्रेमी नेताको रुपमा स्मरण गर्छुृ । नेपालको पर्यटनमा नयाँ आयाम र वृहत योजनाहरु सहित अघि सारेका उहाँका रणनीतिक योजनाहरुले नेपालको पर्यटनमा नयाँ आयामको शुरुआत गर्नमा हामी विश्वस्त थियौं । तर हामीले अकल्पनीय रुपमा उहाँलाई गूमायौं ।
उहाँको निधनले नेपालको पर्यटन विकासमा नराम्ररी धक्का लागेको महसुस भएको छ । पोखराको सन्दर्भमा पनि बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट उहाँमा थियो । पोखरा अन्तराष्ट्रीय बिमानस्थल, चक्रपथ, काठमाण्डौ पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमाण्डौँ पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पूर्वाधार निर्माणको दबाब सृजना गर्ने काममा उहाँको महत्वपूर्र्ण भूमिका रहेको छ । अब हामीले उहाँलाई पाउँदैनौ तर उहाँले देखाएका मार्गचित्र र उहाँले अघि सारेका विकासका मोडलहरुलाई पूरा गर्न सके उहाँ माथि सच्चा न्याय हुने थियो ।
शिक्षाविद् जोर्जजोन :
म काजबाट २०४९ सालमा पृथ्वीनारायण क्याम्पस फर्कदा रवीन्द्र अधिकारी स्ववियू सभापति हुनुहुन्थ्यो । निकै जाँगरिलो, कमाण्डीङ्ग गर्न सक्ने टाठो युवा लाग्थ्यो । उहाँकै पहलमा पिएन गेट देखि कार्यालय सम्मका बाटोहरुलाई कँक्रिट बाटो बनाउनुभएको हो । बाटो निर्माण चन्दा उठाउन उहाँ निकै खटिनु भएको थियो । रवीन्द्रले विद्यार्थीकाल देखिनै विकासको एजेण्टालाई प्राथमिकता दिएको मैले पाएँ ।
कसैलाई नराम्रो नगर्ने, सम्मान गर्न जान्ने उहाँको विशेषता थियो । पोखरा विश्वविद्यालयको स्वरुप सम्बन्धिको एउटा कमिटिमा रवीन्द्र र म सँगै थियौ । उहाँले धेरै सुझावहरु दिनुभएको थियो । म निकै राम्रो व्यक्तीको रुपमा रवीन्द्रलाई स्मरण गर्छु ।
रवीन्द्र स्मृति प्रतिष्ठानका कोषाध्यक्ष देवका पहारी :
रवीन्द्र अधिकारी म भन्दा एक व्याच सिनियर हुनुहुन्थ्यो । विद्यार्थी काल देखिनै जुझारु र मिलनसार व्यवहार उहाँको थियो । राजनीतिक आन्दोलनमा निडर निर्भिक साथ प्रस्तुत हुने कुशल नेतृत्व क्षमता उहाँमा थियो । राजनीति र बिकास एक अर्काका अन्तर सम्बन्धित ठान्ने अधिकारी नेपाली राजनीतिलाई उचाइमा पुर्याउने एक कूशल राजनीतिक पात्र हुनुहुन्छ । नेपाली राजनीतिको उदीयमान नक्षत्रका रुपमा रहनु भएका अधिकारीले गर्र्नुभएका सकारात्मक र अविस्मरणीय कार्यलाई चीरस्थायी रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठान गठन गरेर उहाँको योगदानलाई जीवन्त राख्ने प्रयासमा लागेका छौ ।
पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली :
हामीले देश विकासको बारेमा भिजन भएको नेता गुमायौ । बोल्नकै लागि बोल्ने धेरै नेता छन् यसका विपरीत अध्ययन अनुसन्धान गरेर सम्भाव्यताको आधारमा विकासका दृष्टिकोण बनाउने नेता रवीन्द्र अधिकारी हुनुहुन्थ्यो । देश तथा विदेशका विकासका मोडलहरुमा विशेस चासो राख्दै अध्ययन गर्न र देशकाल परिस्थितीलाई बुझ्न सक्ने लोकप्रिय नेताको रुपमा म रवीन्द्र अधिकारीलाई स्मरण गरिरहने छु । आजको समकालिन नेतामा उहाँको जस्तो क्षमता र खुबी भएको नेता मैले देखेको छैन । अब छिट्टै जन्मेलान् वा अझै समय लाग्ला भन्न सकिन्न ।