काठमाडौं । सातैजना पूर्व अध्यक्ष सम्मिलित बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व सर्वसम्वतबाट छान्ने जिम्मा पूर्व अध्यक्षद्धय रविभक्त श्रेष्ठ र महेशलाल प्रधानलाई दिएको छ ।
महासङ्घका पूर्व अध्यक्षहरुको बिहीबार रोयलसिंगी होटलमा बसेको बैठकले श्रेष्ठ र प्रधानलाई उक्त जिम्मेवारी दिइएको हो । श्रेष्ठ सुरुदेखि नै महासङ्घमा सर्वसम्वत नेतृत्व ल्याउने पक्षमा थिए । उनले आफ्ना सहकर्मीहरुलाई सबै पदाधिकारी सर्वसम्मतबाट ल्याए मात्रै महासङ्घ बलियो हुने धारणा राख्दै आएका थिए ।
बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिइसकेका चन्द्रप्रसाद ढकाल र किशोर प्रधानलाई उनले आफू सर्वसम्वतको पक्षमा रहेको बताइसकेका थिए । ‘म कसैको पक्षमा जाँदिन्, सर्वसम्वत बनाउने मेरो प्रयास अन्तिमसम्म हुने बताउँदै आएका थिए ।
‘एक आपसमा लडेर र गुट उपगुट बनाएर महासङ्घ कमजोर भएको हो,’ उनले भने, ‘त्यही भएर यो पटक सर्वसम्वतको पक्षमा उभिएको र सबै पूर्व अध्यक्ष पनि सहमत भएका हुन् ।’
दुई बरिष्ठ उपाध्यक्षका उम्मेदवारले आ–आफ्नो तयारी थाले पनि महासङ्घका पूर्व अध्यक्षहरु सर्वसम्वत गराउन लागिपरेका हुन । त्यसको जिम्मा दुई पूर्व अध्यक्षले लिने र अन्यले उनीहरुलाई सहयोग गर्ने सहमति भएको हो ।
बैठकले पूर्व अध्यक्षहरुले महासङ्घलाई सशक्त र बलियो बनाउने हो भने सर्वसम्वतबाट नयाँ नेतृत्व छान्नुको विकल्प नभएको बताएका थिए ।
‘सर्वसम्वतको पक्षमा निकै लामो समयदेखि रविजी लागिरहनु भएको छ, यसको नेतृत्व उहाँलाई नै दिउ,’ बैठकमा एक पूर्व अध्यक्षले प्रस्ताव राखेका थिए ।
त्यसमा सबैले सहमति जनाए । महेशलाल प्रधानलाई नेतृत्व गर्न आग्रह गरे पनि उनले रवि र म मिलेर नेतृत्व लिने बताएपछि दुई जनालाई जिम्मेवारी दिइएको सहभागि एक पूर्व अध्यक्षको भनाइ छ ।
२०७६ चैत २८ गते हुन गइरहेको महासङ्घको आगामी नेतृत्व चयनका लागि उम्मेदवारी घोषणाका साथसाथै प्रचाररप्रसार दौडधुप चलिरहेका बेला पूर्व अध्यक्षको भेलाले यस्तो तयारी थालेको हो ।
एकजना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र पाँच दर्जन भन्दा बढी कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन हुन गइरहेको छ । तर, बैठक अहिले चुनाव गराउने पक्षमा नभएको सहभागि पूर्व अध्यक्षको भनाई छ ।
यसअघि पनि महासङ्घमा सर्वसम्वत तरिकाले नेतृत्व छानिसकेको उदाहरण प्रस्तुत गर्दै सोही अनुसार यो पटक पनि नेतृत्व छान्न सकिने उनीहरुको बुझाइ छ ।
रविभक्तले प्रदीपकुमार श्रेष्ठलाई अध्यक्ष छाडेको र दोस्रो कार्यमा उनी अध्यक्ष भएको नजिर छ । सोही अनुसार मिलाउन पूर्व अध्यक्षहरु लागेका हुन् । यस्तै चण्डीराज ढकाल पनि सर्वसम्वत महासंघको अध्यक्ष भएका थिए ।
केही समयअघि मात्रै महासङ्घमा विधान संशोधनको रस्साकस्सी चलिरहेका बेला पूर्व अध्यक्षहरु एक जुट भएर विधान संशोधनको विपक्षमा उभिएपछि त्यो खेल अन्त्य भएको थियो ।
अन्तिम घडीमा महासङ्घमा पूर्व अध्यक्षहरुले सकरात्मक रोल खेल्ने गरेका छन् । त्यसैको परिणम स्वरुप अहिले पनि नयाँ नेतृत्व सर्वसम्वत बनाउन लागिएको हो ।
होटलमा महेशलाल प्रधान, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, रवीभक्त श्रेष्ठ, विनोदवहादुर श्रेष्ठ, कुशकुमार जोशी, र सुुरज वैद्यबीच महासङ्घको नेतृत्व चयनका विषयमा गम्भीर छलफल भएको थियो ।
महासंघको अहिलेको विभाजित र कमजोर अवस्थालाई ध्यान दिंदै एकताबद्ध र शक्तिशाली संगठनका रुपमा अघि बढाउनका लागि पूर्व अध्यक्षहरु एकजुट भएर लाग्ने निर्णय गरेका छन् ।
यस पटकको नेतृत्व के कसरी सर्वसम्मत गर्न सकिन्छ ? भन्ने बारेमा निर्वाचनमा उम्मेदवार भएका व्यक्तित्वहरु र अन्य सरोकार समूहहरुका साथै महासंघको प्रदेशस्तरीय, जिल्लानगर उद्योग बाणिज्य संघ, बस्तुगत, एशोसियटका पदाधिकारी र सदस्यहरुसंग छलफल र राय सुझावका लागि पूर्व अध्यक्ष प्रधान र श्रेष्ठद्वयलाई जिम्मेवारी दिइएको छ ।