काठमाडौं । अर्थ मन्त्रालयले पूर्वाधार विकास कर बढाए पनि उपभोक्क्ताको लागी डिजेल र पेट्रोलको मुल्य नबढाएको जनाएको छ । मन्त्रालयले इन्धनको भन्सार दर पुनरावलोकन गर्दाबजारमा कायम उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने बताएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकतालाई समेत ध्यानमा राख्दा तेलको मूल्य नबढ्ने बताएको हो ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’
अर्थमन्त्रालयका अनुसार हाल नेपाल आयल निगमको नाफा एवम वित्तीय अवस्था सहज भएको र अब सिर्जना हुने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्तकाले करको दरमा परिमार्जन गर्दा उपभोक्ता मूल्यमा वृद्धि नगरीकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने स्थिति अर्थले देखेको छ ।
आर्थिक ऐन, २०७६ को दफा ९ मा नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार बिन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकोले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने व्यवस्था गरिएको र सोही व्यवस्थाअनुसार मन्त्रिपरिषदको फागुन १२ गते निर्णयले नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलको पूर्वाधार कर दरमा पुनरावलोकन गरेको बताएको छ ।
मन्त्रालयका अनुसार समय समयमा अन्तर्राष्ट्रिय र छिमेकी मुलुकको अवस्था हेरी व्यापारमा विचलन आउन नदिन यस अघि पनि करका दरहरूमा परिमार्जन गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा केही समयदेखि कच्चा तेलको प्रति ब्यारेल मूल्य क्रमश घट्दै गएको अवस्था छ । नेपालमा पेट्रोलियम इन्धनको स्वचालित मूल्य प्रणाली लागू गरिए पनि खुला सीमानाका कारण भारतीय बजारमा प्रचलित मूल्य समेतलाई आधार मानी मूल्य समायोजन गर्न अनिवार्य हुने मन्त्रालयले भनेको छ ।
मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा नेपालमा यस्तो मूल्य घटाउन परेमा मूल्य फरक अरू धेरै भई व्यापारमा थप विचलन हुने सम्भावना रहन्छ । अहिले नै सीमावर्ती भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर करिब १६ रुपैयाँ र १५ रुपैयाँ सस्तो रहेको छ ।