चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसले ठूलो मानवीय क्षतिसँगै विश्व अर्थतन्त्रलाई पनि धक्का दिन्छ भन्ने सायदै अनुमान गरिएको थियो होला । तर, अनुमान विपरीत मानवीय क्षतिसँगै विश्व अर्थतन्त्रलाई पनि ओरालो ग्राफमा झारिरहेको छ ।
विश्वको ८० भन्दा बढि मुलुकमा अहिले कोरोना भाइरस फैलिसकेको छ । ती मुलुकको आन्तरिक अर्थतन्त्र र दुई देशियसाथै बहुराष्ट्रिय अर्थतन्त्रलाई नराम्रो झट्का पुर्याइरहेको छ । कोरोनाले व्यापार अर्थशास्त्र यस्तो बनाइदियो कि चीन र अमेरिकाको ‘ट्रेड वार’ पनि सुस्तायो ।
विश्वका ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाको व्यापार गतिविधि मात्र सुस्ताएको छैन, यसले विश्व अर्थतन्त्रको वृद्धिलाई समेत रोकिदिएको छ । चीनसँगै कतिपय मुलुकमा उत्पादनमा कमी, मागमा सुस्तता र सेयरबजार खुम्चिनु अर्थतन्त्रको वृद्धिलाई रोकिएको रुपमा हेर्नुपर्छ ।
केही अर्थशास्त्रका पण्डितहरु कोरोना भाइरसले अर्थतन्त्रको प्रभाव लामो समय नहुने र प्रभाव देखिने बेला रिकभरी भइसक्ने अनुमान गरिरहेका छन् । यही अनुमानकै बीचमा विश्व अर्थतन्त्रमा क्षतिको दायरा फराकिलो भइरहेको छ । विश्व अर्थतन्त्रको एक तिहाई अर्थतन्त्र कोरोनाका कारणले डगमगाउनु भनेको बाँकी विश्वको अर्थतन्त्रमा स्वाभाविक उतारचढाव हुनु हो । यति बुझ्न ठूला अर्थशास्त्रीका प्रक्षेपण खासै आवश्यक छैन ।
चीनको हवेई प्रान्तबाट फैलिएको यो महामारीको प्रभाव कोरिया हँुदै, युरोपका विभिन्न देश र अमेरिकासम्म देखिईसकेको छ । एक अध्ययनले यस महामारीका कारण अर्थतन्त्रमा पार्ने प्रभावको फलस्वरुप अमेरिका, युरोप र जापानजस्ता देशहरुले आर्थिक मन्दीको सामना गर्नपर्ने छ भने चीनले आफनो अर्थतन्त्रमा ऐतिहासिक मन्दीका अवस्था देख्नुपर्नेछ । करीब ३ ट्रिलिएन अमेरिकी डलर बराबरको नोक्सानी विश्व व्यापारमा हुनेछ, जुन भनेको बेलायतको कुल ग्राहस्र्थ उत्पादन बराबर हुन जान्छ ।
चीनलाई विश्वमा हरेक बस्तु र सेवाहरुको माग, आपूर्ति र आर्थिक कारोबारको मुख्य स्रोत देशको रुपमा लिइन्छ । अर्थात चीन विश्वकै व्यापारिक जगतको इन्जिन हो । कोरोना भाइरसको संक्रमण पश्चात चीन अहिले आफ्नो साख जोगाउन संघर्षरत मात्र छैन, विश्वभरको भरोसाको केन्द्रबिन्दुमा छ । वर्तमान अवस्थाको पटाक्षेपका बारेमा विश्वनै अहिले अनभिज्ञ छ । चीनमा अहिले सवारी साधनको बिक्री ८० प्रतिशतले घटेको छ । सामान्य अवस्थाको भन्दा सडकमा सवारीको आवतजावत ८५ प्रतिशतले कम भएको छ । आर्थिक सूचाङ्कहरु ऐतिहासिक न्यून बिन्दुमा पुगेका छन, अर्थात चीनको अर्थतन्त्रले जीवनहीन परिस्थितिको सामना गरिरहेको छ ।
सन् २०१९ मा चीनले २.१ ट्रिलिएन अमेरिकी डलर बराबरको बस्तु तथा सेवा आयात गरेको थियो । जसमा कफी, चिप्स र फ्राइड चिकेनसम्मका सामग्री थिए । ठूलाठूला बहुराष्ट्रिय कम्पनीहरुको आम्दानीको मुख्य बजारको रुपमा चीन रहेको छ । चीनका पर्यटकहरु विश्ववजारका ठूला क्रेताहरु हुन, जो नेपालका गल्लीहरुदेखि पेरिसका महंगा कलाकेन्द्रसम्मका ग्राहक बन्ने गर्दछन ।
चीन बिश्वकै ठलो औद्योगिक पार्टपूर्जाहरु उत्पादन गर्ने राष्ट्र हो । यहाँका उद्योगहरु बन्द हुदाँ एप्पलका ग्याजेट्सदेखि निर्माणमा प्रयोग हुने ठूलाठूला उपकरणहरुको बजारमा आपूर्ति कम हुन जान्छ । साना तथा मझौला उद्योगहरुमा पनि यसको असर ठूलो पर्नेछ किनकी प्राय सबै चीनकै भरमा बाँचेका छन् । विश्वको पूँजी बजारमा पनि चीनका लगानीकर्ताहरुको ठूलो लगानी तथा भूमिका रहेको छ । यसैले विश्व पूँजी बजारमा कोरोनाको प्रभाव देखिन शुरु भईसकेको छ ।
बुलमवर्गका अनुसार सन् २०२० को पहिलो त्रैमासमा विश्व अर्थतन्त्र १.२ प्रतिशतले मन्दि हुने आँकलन गरिएको छ । तर चीनले छिट्टै आफ्नो लय समाउन नसकेको अवस्थामा विश्व अर्थतन्त्र अझ खराव अवस्थामा पुग्न सक्नेछ । यस महामारीको प्रकोप चीनपछि मार्च महिनाको शुरुदेखिनै कोरिया, इटाली, भारत, इरान, जर्मन, फ्रान्स, जापान र अमेरिकासम्म फैलिईसकेको छ । विगत केहीदिन देखि चीनमा संक्रमणको दर घट्दै गएको तथ्यहरु बाहिर आएका छन् । हुवेई प्रान्तका ६ करोड मानिसहरु अहिले बन्द अवस्थामा रहेका छन । त्यसैले होला चीनसँग नजिक रहेका अन्य देशहरुमा महामारीको प्रकोप खासै देखिएको छैन ।
चीनका उद्योगहरु सन २०२० को चौथो महिनासम्ममा पूर्णक्षमतामा सञ्चालनमा आईसक्ने अनुमान गरिएको छ । यदि त्यसो भएमा विश्व अर्थतन्त्रमा खासै ठूलो असरहरु देखापर्ने छैनन् । तर ठूला अर्थतन्त्र भएका विश्वका सबै देशहरुमा यसको संक्रमण पुगिसकेको हुनाले यी देशहरु पनि आफनो आन्तरिक सर्घषमा व्यस्त हुनु पर्नाले विश्वको अर्थतन्त्र अनुमान गरिए अनुरुप नबढ्न सक्छ ।
दोस्रो सम्भावना, यदि चीनलाई माथि आँकलन गरिए अनुसार आफ्नो लयमा आउन समय लाग्ने भयो वा चीन सामान्य अवस्थामा आउन ख् आकारको सटा ग् आकारलाई पछ्याउन बाध्य भयो भने के होला ? उद्योगहरु सञ्चालनमा आए भने पनि कच्चा पदार्थको अभाव झेल्नुपर्ने छ र कम उत्पादन हुनेछ । कोरिया, इटाली, जापान, जर्मन, फ्रान्स जस्ता ठूला अर्थतन्त्र भएका देशहरुमा कोरोनाको संक्रमण अझ बढ्ने अनुमान गर्ने हो भने यस्को प्रत्यक्ष असर विश्वको सन २०२० को आर्थिक वृद्धिमा पर्न गई २.३ प्रतिशतको हाराहारीमा झर्नेछ ।
तेस्रो सम्भावना, यदि हामीले अवस्था अझ खराव हुने अनमान गर्यौं र कोरिया, इटाली, जापान, जर्मन, फ्रान्समा महामारीको पकड ह्वात्तै बढ्ने र संक्रमण देखिएका अन्य ठूला अर्थतन्त्र भएका देशहरु अमेरिका, भारत, ब्राजिल, बेलायत र क्यानडामा आंशिक मात्र प्रभाव देखियो भने यी सवै देशहरु संक्रमण रोक्नका लागि आन्तरिक संर्घषमा लाग्नेछन । जसको फलस्वरुप विश्वका १० ठूला अर्थतन्त्र भएका देशहरुमा प्रभाव पर्नेछ र सन् २०२० मा विश्वको बृद्धिदर १.२ प्रतिशतमा खुम्चिने छ । युरोप र जापान आर्थिक मन्दीमा जानेछन् भने अमेरिकाको बृद्धिदर ०.५ प्रतिशतमा झर्नेछ ।
चौथो सम्भावना, माथि भनिएका देशहरुमा यो सक्रमणको प्रभाव चीनले प्रारम्भमा भोग्नुपरेको मात्रामा पुग्यो भने विश्वको बृद्धिदर सन् २०२० मा शून्यमा पुग्नेछ । यस अवस्थामा यूरोप र जापानसँगै अमेरिका पनि आर्थिक मन्दीबाट गुज्रने छ भने चीन सन् १९८० को देङ साउपिङको जमानामा पुग्नेछ ।
लेखकः प्रभु बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्