काठमाडौं । कोरना भाइरसको प्रभाव सेयर बजारमा परेको छ । साताको पहिलो दिन आईतबार बजार ६४ अंकले भारी गिरावट आएको छ । बजार घटेपछि नेप्से परिसूचक १ हजार ३१३ अंकमा झरेको छ । आइतबार बजार ४.६६ अंकले घटेको छ ।
बजार घटेसंगै कारोबार रकममा पनि कमी आएको छ । आईतबार २ अर्ब १० करोड १४ लाख रुपैयाँ बराबरको ५५ लाख ७० हजार ३० कित्ता सेयर किनबेच भएको छ ।
बजार घट्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार १०० रुपैयाँमा १७ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
एनआईसी एसिया बैंकको ५१८ मा ११ करोड ४६ लाख र एनएमबी बैंकको ४१४ रुपैयाँमा १० करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार घटेपछि सबै परिसूचक रातामैं भएका छन । आइतबार सबैभन्दा बढी जीवन र निर्जीवन बीमाको सेयर मूल्य घटेको छ । जीवन बीमाको ६२१.८८ र निर्जीवन बीमाको ४१६.७३ अंकले घटेको छ ।
यस्तै लघुवित्त समूहको ९३, उत्पादन समूहको ८०, विकास बैंकको ६२, होटलको ५२.४८ र वाणिज्य बैंकको ५७ अंक घटेको छ । माघ अन्तिमदेखि निरन्तर बढेको सेयर बजार फागुनको अन्तिमदेखि घट्न थालेको हो । बजार बढेर १ हजार ६०० अंक नजिक पुगेको थियो ।
सेयर बजारमा कोरनाको असर देखिएको लगानीकर्ता प्रकाश तिवारी बताउँछन । कोरनाको असर लम्बिएर जाने संभावना देखिएकाले बजार अझ घट्न सक्ने उनको अनुमान छ । आगामी दिनमा कोरनाले बैंकिङ्ग क्षेत्रलाइ कस्तो असर गर्छ बजार पनि त्यसमा निर्भर हुने उनको भनाई छ ।
२०७२ मा भूकम्प गएपछि केही दिनपछि बजार बढेर साउनमा १ हजार ८८१ अंकको उच्च विन्दुमा पुगेको स्मरण गर्दे उनले कोरनाको असर लामो समयसम्म पर्ने भएकाले आगामी दिनमा सरकारले लिने नीतिमा बजार चल्ने उनले स्पष्टपारे ।