काठमाडौं । कोरोना भाइरसको प्रभावले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रमा बिजुलीका तार ‘अन्डरग्राउन्ड’ गर्ने कार्य प्रभावित भएको छ । दुई महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक शुभारम्भ गरेका थिए ।
अण्डरग्राउण्डको जिम्मेवारी भारतीय ठेकेदार कम्पनीे केइआईले पाएको थियो । आयोजनामा सीमित कामदारका कारण आयोजना प्रभावित हुने देखिएको हो ।
विद्युत् वितरण भूमिगतको कार्य सुरु हुनुपूर्व सीमित कामदार मात्रै आएको र पछि कोरोनाको कारण थप कामदार आउन समस्या भएको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । सीमित कामदारका कारण पनि केही समस्या भएको र भारतबाट थप कामदारलाइ क्वारेन्टाइनमा राखेर ल्याउने बताए ।
‘ठेकेदार अहिले काममा ‘मोविलाइज’ गरिरहेको छ । अलिकति कोरोनाले मात्रै असर गरेको छ । काम सुरु नभइकन एकैचोटी भारतबाट कामदार ल्याउने कुरा भएन् । पहिले ल्याएका सिमित कामदार मात्रै छन् । थप मान्छे ल्याउनलाइ गाहे भइरहेको छ’ उनले भने, ‘तर, हामीले विस्तारै हामी भारतबाट आउने कामदारलाइ क्वारेन्टाइनमा राखेर ल्याउने तयारीमा छौं ।’
अहिले बुढानीकण्ठ तर्फको भूमिगतको काम धमाधम भइरहेको छ । त्यो क्षेत्रमा ५ ठाउँबाट काम भइरहेको सिलवालले बताए । तर, महाराजगन्ज खण्डमा भने काम केही सुस्त छ ।
काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई पहिलो पटक अण्डरग्राउन्ड गर्न लागिएको हो । यो सफल भएपछि अन्य शहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई अण्डरग्राउण्ड गर्दै लैजाने तयारी विद्युत प्राधिकरणको छ ।
रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनको क्षेत्र भएकाले त्यसमा विभिन्न सेवाप्रदायक तथा कम्युनिकेसनका तारहरु एउटै पाइपबाट अन्डरग्राउन्ड गरिनेछ ।
विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) को ३ करोड डलर ऋण लगानी छ । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडक र पोलमा तारको गुजिल्टा देख्नु नपर्ने प्राधिकरणको योजना छ ।
मेसिनको सट्टा मान्छेले सडक खन्नुपर्ने
महाराजगञ्ज वितरण केन्द्रको केही दूरीमा अन्डरग्राउन्डको डिजाइन परिवर्तन हुने भएको छ । ‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट सडक ‘कटिङ’ गर्दा सडकमूनी भएका पुराना खानेपानीका पाइप, मेलम्चीका पाइप, पुरानो ढल र केवल जस्ता संरचनामा क्षति हुन सक्ने भएकाले त्यस्को सट्टा ‘म्यानुअल होरिजेन्टल’ अर्थात मान्छेले नै हाते मेसिनको सहायताले सडकक ‘कटिङ’ गरिने भएको हो ।
केही क्षेत्रमा मात्रै सो प्रविधि प्रयोग गरिनेछ । अरु क्षेत्रमा भने ‘होराइजनल ड्रिलिङ’ प्रविधि प्रयोग गरिने छ ।