बीबीसी, काठमाडौं । सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आज मध्यरातीबाट लागु हुँदैछ। सरकारको निर्णयले विदेश फर्किन चाहनेहरूका लागि विकल्प पनि खुला गरेको छ। जस अनुसार केही विमान कम्पनीले उडान जारी राख्ने बताइएको छ।
उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यसअघि नै युरोपका सबै मुलुकहरू, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यरातीदेखि लागु हुनेगरी आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारत, थाइल्याण्ड, भुटान, बंगलादेश, सिङ्गापुर र चीनबाट मात्र उडान भइरहेको थियो।
त्यसपछि सरकारले सबै अन्तर्राष्ट्रिय उडानमा ३१ मार्चसम्मको निम्ति रोक लगाएको छ। जुन आज मध्यरातीबाट लागु हुँदैछ।
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यसअघि नै रोक लगाइएका केही देश वा विमानस्थलबाट पनि काठमाडौंमा विमान अवतरण गरेका छन् । ती विमान यात्रु लिएर फर्किएका पनि छन्।
आइतवार कतार एयरवेजले दोहा काठमाडौं, काठमाडौंदेखि दोहा, इतिहाद एयरवेजले अबुधाबीदेखि काठमाडौं, काठमाडौंदेखि अबुधाबी, सिल्क एयरले सिङ्गापुरदेखि काठमाडौं, काठमाडौंदेखि सिङ्गापुर, ड्रुक एयरले पारोदखि काठमाडौं र काठमाडौंबाट पारेसम्म उडान गरेका छन्।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सरकारको निर्णयका आधारमा प्रतिबन्धित देश र विमानस्थलबाट पनि ती उडान भएका हुन्। र, ती विमान सेवाका उडान पूर्ण प्रतिबन्धपछि पनि जारी रहन सक्छन्।
क्षेत्रीले भने, कतार र इतिहाद एयरवेजलाई उताबाट यात्रु नल्याएर खाली आउने, पाइलटहरू जहाजमै बसिरहने र यहाँका यात्रु लग्ने सुविधा सरकारको निर्णय गराएर दिइएको छ। तर अरूलाई अहिलेसम्म त्यो अनुमति छैन।
उनीहरूले सोमवार पनि उडान गर्ने जानकारी नेपाली अधिकारीहरूलाई दिएको बताइएको छ। जनता कर्फ्युु भारतमा, प्रभाव सीमावर्ती नेपाली भूभागमा पनि अरू विमान सेवा कम्पनीले चाहेमा त्यो सुविधाको निम्ति अनुमति दिन सकिने उनले जानकारी दिए।
कुनै देशबाट निकाला गरिएका नेपाली अलपत्र परेका छन् भने उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर क्वारन्टीनमा राख्ने गरी नेपाल ल्याउने अवस्था रहेमा सरकार लचिलो हुनसक्ने अधिकारीहरू बताउँछन्।