काठमाडौंमा रात्रिबस चलाउने महानगरको योजनामा कोरोनाको धक्का

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,११:२२:AM  
काठमाडौंमा रात्रिबस चलाउने महानगरको योजनामा कोरोनाको धक्का

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड–१९) को प्रभाव हरेक क्षेत्र परेको छ ।  कोरोना भाइरसको प्रभावले काठमाडौं महानगरले आउँदो बैशाखभित्र रात्रिबस चलाउने योजनामा समेत धक्का लाग्ने देखिएको छ । रात्रिबस सञ्चालनका लागि आवश्यक पूर्वाधार संरचना र अध्ययनको काम भइरहेका बेला कोरोना संकमणको जोखिमले धक्का लागेको महानगरका प्रवक्ता इश्वरमान डंगोल बताउँछन् ।

सरकारले अत्यावश्यक बाहेक अरु सेवा बन्द गर्न भनेसँग रात्रिबस सञ्चालनका बाँकी काम रोकिएको उनले बताए । ‘पहिलो कुरा हाम्रो स्वास्थ्य रक्षा गर्नु ठूलो हो । अहिलेको अवस्थामा काठमाडौं महानगरले अघि बढाएको रात्रीबस चलाउने योजनामा पनि असर पु¥याएको छ’ उनले भने, ‘योजना तत्काल नहोला । तर, केहि समय पछि कार्यान्वयन हुन्छ ।’ 

बढ्दो ट्राफिक जाम र यात्रु मैत्री सेवाका लागि भन्दै अघि सारिएको योजना अहिले अन्योलमा परेको हो । बेलुकी ८ बजेदेखि राती १२ बजेसम्म काठमाडौं उपत्यका भित्र आवश्यकता अनुसार रात्रि बस सञ्चालन प्रक्रिया केही पर धकेलिएको डंगोल बताउँछन् । 

काठमाडौं महानगर, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी बीच औपचारिक छलफल भइ भाडा दोब्बर निर्धारण गरेर चलाउने योजना थियो । 

बेलुकी ८ बजेपछि सार्वजनिक बस सेवा बन्द हुने, बस पाइहाले पनि कोच्चिएर जानुपर्ने र सवारी नै नपाइने समस्या अहिले काठमाडौंमा छ । त्यस्तो समस्या न्यूनीकरण गर्न महानगरले रात्रिबस सञ्चालनको अवधारणा ल्याएको हो ।

विगतमा रात्रिबस सेवादिन साझालगायतका केही आधा दर्जन यातायात समितिले रुची देखाए पनि भाडामा कुरो नमिले पछि अहिले विषय सेलाउँदै गएको देखिन्छ । 

बनेनन् पूर्वाधार संरचना

कोरोनाको असर मात्रै होइन्, रात्रीबस सञ्चालनका लागि आवश्यक पूर्वाधार संरचना अहिलेसम्म बनेका छैनन् । रात्रीबस चल्ने रुटमा कम्तीमा पनि बैंकिङ सुविधा, यात्रुको चाप, शुरक्षा, पसल तथा बजार खुल्ला हुनुपर्छ । होटल तथा अन्य सेवा पनि खुल्ला हुनुपर्छ । तर, त्यसका लागि महानगरले ती सेवा मूलक निकायसँग समन्वयन गरेको छैन् ।

काठमाडौंमा ८ बजेपछि यात्रु नहुने समस्या उस्तै छ । त्यसमाथि पनि दिनको भन्दा दोब्बर भाडामा यात्रु जान नमान्ने अवस्था आयो भने रात्रिबस सञ्चालन दिर्घकालीन हुन नसक्ने यातायात व्यवसायी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top