काठमाडौ। सरकारले मंगलबारदेखि घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै मङ्गलवार बिहानबाट लागु हुने गरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कने नपाउने गरी 'लकडाउन' गर्ने निर्णय गरेको छ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।चैत ११ गते बिहान ६ गतेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो ।
फ्रान्सबाट आएकी १९ वर्षीय महिलालाइ कोरोना भाइरस ‘पोजेटिभ’ देखिएपछि फैलन नदिन सरकारले लकडाउनको निर्णय गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मले गर्दै ती महिलामा कोरोना देखिएको बताएका थिए
उनी हाल शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचाररत छिन् । उनलाइ होम क्वारेन्टाइनबाट संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएको थियो । समितिका संयोजक तथा उप्रधानमन्त्री इश्वर पोखरेलले मुलुक कुनै पनि बेला लकडाउनमा जानसक्ने बताएका थिए ।
सरकारले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन आदेश जारी गरेको छ ।
सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी यो आदेश जारी गरेको हो । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म देशभरका सबैले यो आदेश कार्यान्वयन गर्नुपर्नेछ ।
सरकारी निर्णयअनुसार अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, विद्युत, दूरसञ्चार, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यकबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ ।
निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिने निर्णय सरकारले आदेश जारी गरेको छ । यो आदेश औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगको हकमा भने लागू हुने छैन ।
यस आदेशको कार्यान्वयनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशसन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गरिने सरकारले निर्णय गरेको छ ।
नेपालमा अहिलेसम्म दुई जनामा कोरोनाको भाइरस पुष्टि भएको छ । त्यसमा पनि एकजना निको भइसकेका छन् ।
संक्रमण अरु फैलिन नदिने उद्देश्यका साथ सरकारले लकडाउनको निर्णय गरेको हो ।