काठमाडौं । सरकारी असहयोगका कारण अत्यावश्यकको सूचीमा रहेका उद्योग पूर्ण रुपमा बन्द भएका छन् । सरकारले उद्योगसम्म पुग्न नै नदिएपछि आज पूर्ण रुपमा त्यस्ता उद्योग बन्द भएका हुन् ।
मास्क तथा औषधि उत्पादन गर्ने र पानी उद्योग बन्द भएका छन् । सरकारले बाहिर निस्किन दिएन । ‘हामीसँग सरकारी पास थिएन्’ एक औषधि उद्योगीले भने, ‘बाध्य भएर उद्योग बन्द गर्नुको विकल्प भएन ।’
केही दिन देखि मास्क उत्पादन गरेर बजारमा पठाइरहेको निम्बसलाई पनि उत्पादनमा प्रहरीले रोक लगाउन खोजेको थियो । तर, निम्बस व्यवस्थापनले निकै बेरसम्म प्रहरीलाई सम्झाए पछि निम्बसले मास्क उद्योग सञ्चालन गरेको हो ।
लकडाउन गर्ने निर्णय सुनाउँदै अर्थ मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अत्यावश्यक उद्योग निर्वाध रुपमा सञ्चालन हुने बताएका थिए । तर, आज कुनै पनि उद्योग सञ्चालन हुन नसकेको उद्योगीले जनाएका छन् ।
राजधानीमा दुई दर्जन भन्दा बढी पानी उद्योग छन् । ती उद्योग पनि आज पूर्ण रुपमा बन्द रहे । सरकारले अत्यावश्यक उद्योगलाई पास दिने व्यवस्था नगरीदिएकाले उद्योग बन्द गर्न बाध्य भएको लोमस फर्मास्यूटिकल्स् प्रालिका निर्देशक प्रज्वलजंग पाण्डेले जानकारी दिए ।
‘हिजो बेलुका मात्रै लकडाउनको सूचना पाइयो । त्यो बेला पास लिन जाने समय भएन । बिहान ६ बजे निस्किनै पाइएन । सरकारले समयमा सूचना नदिएकाले उद्योग बन्द गर्न बाध्य भइयो,’ पाण्डेले भने, ‘यदि सरकारले भोली पास दिएको अवस्थामा उद्योग सञ्चालन गर्छौं ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्यालले यस बारेलाई लिएर गृहसँग सहकार्य भइरहेको बताए । आज कुनै पनि अत्यवश्यक उद्योग सञ्चालन हुन नसकेको उनले स्वीकार गरे । तर, भोलिबाट सरकारले पास उपलब्ध गराउने र उद्योग सञ्चालन गर्न लगाउने विषयमा छलफल भइरहेको बताए ।
सरकारसँग अत्यावश्यक सामग्री उत्पादन गर्ने सूचीको नाम छ । देश जुनसुकै बेला लकडाउन हुन सक्छ भन्ने पहिल्यै थाहा थियो । तर, अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगीसँग पहिल्यै छलफल हुन सकेको भए आज उद्योग बन्द गर्नु पर्ने थिएन ।
निम्बसले एमआरपीमै घरमा सामान ल्याइदिने
निम्बसले अधिकतम खुद्रा मूल्य (एमआरपी)मै दैनिक उपभोग्य सामग्री घर घरमा पुर्याउने भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लक डाउन गरेपछि निम्बसले घर घरमै सामान पुर्याउन लागेको हो ।
बजारमा मानिसको अत्यधिक चाप बढ्न थाले पछि त्यसलाई रोक्न सरकारले लकडाउन गरेको हो । लकडाउन पछि निम्बसले अनलाईनबाट अर्डर लिएर घर घरमै सामान पुर्याउन थालेको हो । निम्बसका अनुसार २ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान किने निशुल्क डेलिभरी गर्ने छ ।
तर, सरकारले पास नदिएकाले आज उक्त कार्य अघि बढ्न सकेन । निम्बस व्यवस्थापनले पटक पटक सरकारी अधिकारीलाई पासका लागि फोन गर्दा पनि पास नपाए पछि आज कुनै डेलिभरी हुन सकेन् ।
बाटोबाटोमै रोकिए कच्चा पदार्थ बोकेका गाडी
सरकारले औद्योगिक कच्चा पदार्थ बोकेर आएका गाडीलाई निर्वाध रुपमा चल्न दिने बताए पछि त्यसो हुन सकेन । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेर आएका गाडी बीच बाटोमै रोकिएका छन् । प्रहरीले पास मागेको र चालकले पास देखाउन नसकेपछि उनीहरुलाई जहाँको त्यही रोकिएको हो ।