काठमाडौं । उद्योगबाट उत्पादित अत्यावश्यक सामग्री गोदाममै थन्किएको छ । ट्रक चालक काममा फर्किन नमानेपछि उत्पादित अत्यावश्यक सामग्री गोदाममै थन्केर बसेको उत्पादकहरुले बताएका छन् ।
‘कोरोना संक्रमण हुने डरले ट्रक चालकहरु काममा फर्किन मानेका छैनन्, उत्पादित दैनिक उपभोग्य वस्तु गोदाममै थन्किएका छन्,’ केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक कुमुद दुगडले भने, ‘सरकारले चालकलाई सम्झाई बझुाइ काममा नफर्काएसम्म गोदामबाट सामान उठ्ने सम्भावना छैन् ।’
सरकारले उद्योग सञ्चालनका लागि पासको व्यवस्था गरेपछि देशभरका उद्योग सञ्चालनमा छन् । उनीहरुले अहिले धमाधम दैनिक उपभोग्य वस्तु उत्पादन गरिरहेका छन् । तर, ती सामग्री ढुवानी हुन सकेका छैनन् ।
केएल दुगड ग्रुपले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्दै आएको छ । उद्योगबाट उत्पादित सामग्री ढुवानी नभएर गोदाममै थन्किएको दुगडले बताए । ‘सरकारले उद्योग सञ्चालनका लागि जसरी गम्भीर भएर लागेको थियो । त्यसैगरी, ढुवानीकर्तालाई पनि रिझाउनु पर्ने बेला भएको छ,’ उनले भने, ‘यदि ढुवानीकर्ताले ढुवानी गरिदिएन भने उत्पादित सामग्री थन्क्याउनु बाहेक केही गर्न सकिँदैन ।’
कोरोना भाइरस संक्रमण हुने डरले चालक निस्किनै नमानेको औषधि उत्पादकहरुले पनि जनाएका छन् । उनीहरुलाई आफ्ना परिवारले निस्किन दिएका छैनन् । यस्तो बेला सरकारले आफ्ना संयन्त्र प्रयोग गरेर होस्, वा चालकलाई फकाएर भए पनि सामान ढुवानी गराउनुपर्ने उत्पादकहरु बताउँछन् ।
अहिले उद्योगमा टनका टन खाद्यान्नलगायत अन्य उत्पादन थन्किएको छ । उद्योगले उत्पादन गर्दै गोदाममा राख्दै गरेका छन् । ट्रक चालक काममा नआएकाले गोदाममै थन्काउनुको विकल्प नभएको उनीहरु बताउँछन् ।
अहिले अधिकांश अत्यावश्यक उद्योग सञ्चालनमा छन् । लक डाउनको पहिलो दिन कुनै पनि उद्योग सञ्चालन हुन सकेनन् भने दोस्रो दिनबाट उद्योग पूर्ण रुपमा चलेका छन् । तर, तीन दिन देखि एउटा पनि ढुवानी हुन सकेको छैन ।
उत्पादन मात्रै हुने तर बजारमा नजाने हो भने केही दिनमा दैनिक उपभोग्य वस्तुको अभाव हुने उत्पादकहरुको भनाइ छ । यसमा सरकारले गम्भीर भएर सोच्नुपर्ने उनीहरुको तर्क छ ।